बुढानिलकण्ठ पाठशालामा जापानी शैक्षिक तथा सामाजिक व्यक्तित्व ।
कपन अनलाइन
काठमाडौं, साउन २२ ।
काठमाडौं — दुई जना जापानी शैक्षिक तथा सामाजिक व्यक्तित्वले बुढानिलकण्ठ पाठशालाको शैक्षिक, सह–पाठ्यक्रम तथा अतिरिक्त क्रियाकलापहरूको अवलोकन गर्दै विद्यालयले प्रदान गरिरहेको गुणस्तरीय शिक्षाको प्रशंसा गरेका थिए।
अवलोकनका क्रममा उहाँहरूले नेपाल र जापानबीच शिक्षा, संस्कृति तथा सीप आदान–प्रदानलाई थप सुदृढ बनाउन आवश्यक रहेकोमा जोड दिनुभयो। साथै, जेहेन्दार तथा प्रतिभावान विद्यार्थीहरूलाई भविष्यमा विभिन्न शैक्षिक अवसर, तालिम तथा सहयोगका कार्यक्रममार्फत प्रोत्साहन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए।
विद्यालयका प्रधानाध्यापक श्री गोपाल बहादुर महतले नेपालमा निजी विद्यालयहरूले शिक्षाको गुणस्तर अभिवृद्धि गर्न गरेको योगदानबारे जानकारी गराउँदै बुढानिलकण्ठ पाठशालाले सुलभ शुल्कमा आधुनिक प्रविधियुक्त, अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा तथा विविध अतिरिक्त क्रियाकलापहरू उपलब्ध गराउँदै आएको बताउनुभयो।
उहाँहरूको विद्यालय भ्रमणका अवसरमा विद्यार्थी तथा शिक्षकहरूले हार्दिक स्वागत गरेका थिए। साथै, विद्यार्थीहरूले आकर्षक स्वागत नृत्य प्रस्तुत गरी नेपाली संस्कृतिको झल्कोसमेत प्रस्तुत गरेका थिए।
विद्यालयले ३० वर्ष सफलतापूर्वक पूरा गरी ३१औँ वर्षमा प्रवेश गरेको सन्दर्भमा विद्यालयले अघि सारेका शैक्षिक योजना, नवप्रवर्तन, प्रविधिमैत्री शिक्षण प्रणाली तथा विद्यार्थीकेन्द्रित गतिविधिहरूप्रति जापानी प्रतिनिधिमण्डलले खुशी व्यक्त गर्दै आगामी दिनमा विद्यालयसँग सहकार्यको सम्भावनाप्रति सकारात्मक धारणा व्यक्त गरेका थिए।
