कलाकार : लीलाराज दाहाल (लघुकथा)

कलाकार : लीलाराज दाहाल (लघुकथा)

कपन अनलाइन

काठमाडौं असार २७ ।

“छ्याः कस्तो नमिलेको जोडी !” साथीहरुले कृष्णबहादुरलाई उडाउन थाले । उसकीश्रीमती बुढीजस्ती देखिन थालेकी थिई ।
उसले श्रीमतीतिर ध्यान दिनै छोड्यो । श्रीमतीले उसलाई केरकार गरी, “के चाला हो हजुरको ! मतिर ध्यानै छैन त अचेल ! कि कोही बाहिर छन् ?”
ऊ केही बोलेन । बोल्दै बोलेन । श्रीमती झन् रिसाई । उसले फेरि सोधी, “कि एक्लै बस्न मन छ ?”
श्रीमतीले जति सोधे पनि ऊ बोल्दै बोलेन ! निकैबेरपछि केही सोचेर भन्यो, “नयाँ कपडा लगाऊ न एकपटक !”
उसको प्रस्तावलाई श्रीमतीले खासै वास्ता गरिन । उसले भनी,“ मन नपरेकी मान्छेले किन लगाउनु नयाँ कपडा ?
उसले भन्यो, “तिमीलाई खुसी दिन चाहन्छु के !”
“धेरै खुसी दिनु पर्दैन । मलाई सबै थाहा छ । के भएको छ आज हजुरलाई ?” उसले पतिलाई हेर्दै नहेरी भनी ।
यतिबेला भने उसको ओठमा अलिअलि मुस्कानको लहर देखा पर्यो ।
पतिको मन राख्न नयाँ कपडा लगाएर बाहिर निस्केकी श्रीमतीको नजिकै ऊ पुग्यो । श्रीमतीलाई अँगालो मारेर मुसुक्क हाँस्दै दुबैको फोटो आउने गरी सेल्फी लियो ।
फोटो देखाउँदै उसले श्रीमतीलाई भन्यो, “भन त प्यारी ! हामीले यसरी फोटो नखिचेको कति भयोे ?”
भर्खर खिचेका फोटाहरु भटाभट पोष्ट गरेर उसले फेसबुकमा लेख्यो, “प्यारी जीवन साथीसँग !”
उसले मुसुमुसु हाँस्दै पतितर्फ फर्केर भनी, “हजुर त मेरो पतिमात्रै होइन, राम्रो कलाकार पनि हो ।”

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

 

तपाइँको प्रतिक्रिया ।