मौलिकी विवाह : राजेश अधिकारी
कपन अनलाइन
काठमाडौं असार २७ ।
हिमाली भूमि गगन चुमी गर्वले मुस्कायो
सल्ला र धूपी गाँसेर प्रीति खुशीले सुसायो
लेकाली ठिटो फुर्तिलो छिटो तेजिलो मुहार
खुसिलो मन दर्बिलो तन जोशको जुहार
जुँगाको रेखी बसेको देखी ऐनाले जिस्क्यायो
इच्छित रोज्न बेहुली खोज्न आत्माले अरायो
पहाडी भेष सम्याई केश चिटिक्क परेर
बेहुला बन्यो घोडामा चढ्यो मुस्कान छरेर
जन्तिको हुल टाँगियो तुल बाँसको गेटमा
पाहुना जन प्रफुल्ल मन रमाए भेटमा
पछाडि जन्ति छ कोरी गन्ति नौमती घन्कियो
बेहुला बीच अगाडि नाच भञ्ज्याङ्गै रन्कियो
पहाडी ठाउँ दुर्गम गाउँ बेहुला घरको
कमेरे भित्ता भकारी रित्ता छानो छ खरको
पहाडी बाटो ढुङ्गेनी माटो भिरालो अप्ठ्यारो
लड्दै र पढ्दै अगाडी बढ्दै टेकेर तुषारो
जन्तिको टोली तरेर खोली पुग्दछ लक्षमा
छाउँछ शान्ति देखेर जन्ति बेहुली पक्षमा
बेहुली आइन् ज्यान्तीमा छाइन् बरणी बोकेर
नाडीमा बाला हातमा माला पछ्यौरी ओडेर
दुलही नानी काँठकी सानी नजर चञ्चल
रूपकी परी आँटकी दरी वदन चपल
बाटेकी चुल्ठी औंलीमा औंठी अधर सिम्रिकी
गुन्यू र चोली नाकमा फुली यौवना षोडशी
कानमा मुन्द्री नाकमा ढुङ्ग्री घना छ कपाल
हरिणी चाला रक्तिम गाला कन्धर मृणाल
माला र औँठी खुशीले साटी बन्धन बाँधियो
अक्षता पुष्प अर्पेर छ्याप्प बाराती पर्सियो
जग्गेमा बसी सिन्दुर घसी पोतेको वरण
बधुले छोइन् जलले धोइन् बरको चरण
भरेर घडा धोएर गोडा रचियो रिवाज
मौलिक रीती पुर्खाको थिति पहाडी आवाज
सनाई रोयो वेदना फोयो अन्मिने बेलामा
मुटुमा चुभ्यो गाउँ नै डुब्यो आँशुको मेलामा
बिरही घडी डोलीमा चढी वधुको बिलौना
आमा र बाबु नपाई काबु पोख्छन् वेदना
भित्र्याई वधु रूपसी मधु घर भो उज्यालो
ससुरा सासु बगाई आँशु हर्षको रौँदालो
काटेर खसी बारीमा बसी भतेर खाइयो
मारुनी नाची सिलोक वाची खैँजडी गाइयो
संस्कृति हाम्रो बिश्वमै राम्रो प्रभुको निगाह
रीती र थिति लगाई औति अन्तियो बिवाह ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
