बुढानिलकण्ठ मन्दिरमा संकलित भेटी दैनिक सार्वजनिक गर्न स्थानीयको माग
कपन अनलाइन
काठमाडौं,असार १८।
बुढानिलकण्ठ मन्दिरमा भक्तजनबाट दैनिक रूपमा संकलन हुने भेटी तथा दान रकमको विवरण नियमित रूपमा सार्वजनिक गर्न स्थानीयवासी तथा सरोकारवालाले माग गरेका छन्।
बुढानिलकण्ठ मन्दिरमा दैनिक रूपमा देश–विदेशबाट हजारौं भक्तजन दर्शनका लागि आउनुका साथै विशेष पर्व, एकादशी, हरिबोधिनी, जनैपूर्णिमा तथा अन्य धार्मिक अवसरमा भेटी संकलन उल्लेख्य रूपमा बढ्ने गरेपनि दैनिक रूपमा कति भेटी संकलन भयो, कसरी गणना गरियो र उक्त रकम कुन–कुन शीर्षकमा खर्च भइरहेको छ भन्ने विवरण आम नागरिकले सहज रूपमा प्राप्त गर्न नसकेको उनीहरूको गुनासो छ।
सरोकारवालाहरूले धार्मिक आस्था र आर्थिक पारदर्शिता एकअर्काका पूरक भएको उल्लेख गर्दै, सार्वजनिक लेखापरीक्षण, नियमित वित्तीय प्रतिवेदन र भेटी रकमको उपयोगबारे वार्षिक विवरण सार्वजनिक गर्ने अभ्यासलाई संस्थागत गर्नुपर्ने बताउदै यसका लागि जन दवावको तयारी समेत गरिएको जानकारी दिएका छन।
संकलित भेटी रकम मन्दिर संरक्षण, धार्मिक तथा सांस्कृतिक गतिविधि, पूर्वाधार विकास, सरसफाइ, तीर्थयात्री सेवा तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा कसरी खर्च भइरहेको छ ? भन्ने थाहा पाउने अधिकार नगरपालिका र नगरवासीको रहेको बताउदै उनले सो मन्दिरमा रहेका विभिन्न समितीहरुलाई भेला तथा बैठक गर्न आव्हान समेत गरेका छन।
धार्मिक तथा सार्वजनिक संस्थाहरूमा पारदर्शिता र जवाफदेहिताको अभ्यासलाई सुदृढ बनाउने विषय पछिल्लो समय व्यापक बहसको विषय बनेको छ। बुढानिलकण्ठ मन्दिरको भेटी व्यवस्थापनलाई पनि सोही मापदण्डअनुसार थप खुला र पारदर्शी बनाउनुपर्ने स्थानीयको अपेक्षा रहेको छ।
