धोबीहरूको युग : अंशु भट्ट (निबन्ध)

धोबीहरूको युग : अंशु भट्ट (निबन्ध)
कपन अनलाइन
काठमाण्डौ, असार १४।

आज रातभर मलाई बढो पिर प¥यो । कुरा नघुमाई सिधै भनूँ भने—भगवानमाथि दया लागेर आयो । विचरा भगवान, के गर्दै होलान् है ? मनमा बादल त मडारिए, फलस्वरूप पानी चाहिँ परेन; मेरो निद्रा भने बालुवामा पानी खन्याएझैँ हरायो । भगवान पनि सोच्दै होलान यत्रो संसार सृष्टि गरेँ, सबै प्राणीहरूलाई के भयो ? दुःखमा हात फैलाएर रुन्छन्, सुखमा लोटपोट भएर अधर्म र कामवासनामा डुब्छन्, अनि फेरि सबै दोष भगवानकै टाउकोमा राख्छन् । माग्न जान्दा मीठा शब्द, व्यवहार गर्न जान्दा लुटपाट नछाड्ने समाजमा यस्तो समाजमा को जन्मियो होला जो रातभर ओल्टो–पल्टो गर्दै भगवानकै चिन्तामा निदाउन सकेको छैन ? आज म जस्तो एउटा मान्छे, त्यो पनि भगवानकै चिन्तामा रातभर कोल्टे फेरिरहेको देख्दा भगवान स्वयं अचम्ममा परेका होलान् । —यो कुन जातको प्राणी जन्मियो भनेर ? जो रातभर ओल्टो–पल्टो गर्दै भगवानकै चिन्तामा निदाउन सकेको छैन ? त्यो पनि म जस्तो, सम्पूर्ण ब्रह्माण्डको पालनहारको हालतको चिन्तामा ।
निद्रा परेन, किनकि त्रेता युगको एउटा धोबीले बोलेको एक वाक्य, “म राम होइन, घरबाहिर रात बिताउने स्त्री स्वीकार्न” ले सिता माताको चरित्रमाथि शङ्का ग¥यो र त्यसको ब्याज आजसम्म समाजले असुल गरिरहेको छ । धोबीले सजाय पायो, पुनर्जन्ममा कुजो बन्यो, ज्ञान र पश्चात्तापको भारी बोकेर हिँड्यो, कृष्णले आएर उद्धार गर्नुभयो । तर आज ? आज त समाजै धोबी भएको छ । हरेक मुख न्यायाधीश, हरेक आँखा चरित्र मापन गर्ने यन्त्र, हरेक औँला आरोपको हतियार । यहाँ धोबीको एक वाक्य होइन, लाखौँ मुखका अपशब्दले नारीको अस्तित्व छियाछिया पारिन्छ ।त्यसपछि मनमा अर्को प्रश्न आयो—के साँच्चै भगवान छन् त ? कि वाल्मीकि र वेदव्यास यति महान् कथाकार थिए कि उनीहरूको काव्यलाई हामीले भगवानकै दर्जा दिईदियौँ ? कि फो्लोरेन्स नाईटिङ्गेल, पृथ्वीनारायण शाह, राजेन्द्र लक्ष्मी जस्ता मानिसलाई जस्तै लोकले सम्झेर “भगवान” बनाइदिएको हो ? कतै भगवान पनि कुनै युगका लोकप्रिय समाजसेवी त होइनन् ? सत्य के हो भन्ने खोतल्न बसे चार युग पनि कम पर्ला । तर मानौँ भगवान छन् भने, के उहाँ साँच्चै निष्पक्ष हुनुहुन्छ ? कि “राजाको छोराछोरी राजा, जनताको छोराछोरी ढोल–बाजा ” भन्ने मानवीय सिद्धान्त स्वर्गसम्मै पास भइसकेको हो ? यही सोच्दै म रातभर कोल्टे फेरिरहेँ । देवताहरू पनि धर्मसंकटमा परेका होलान्—अब कसलाई के सजाय दिने ? म देवताहरूको बैठकमा भएको भए सायद भन्थेँ “ पहिले फाइल छुट्याउनुहोस् प्रभु, धोबीका फाइल धेरै बाक्ला छन् ।” सायद देवताहरू मलाई हेरेर “ हेर न, यो मान्छे हामीमाथि नै दया देखाउँदैछ” भनेर हाँसिरहनु भएको हुनुहुन्थ्यो होला । यदि सीता पवित्र थिइन् भने, के त्रेता युगका बाँकी नारी अपवित्र थिए ? कि पवित्रताको ठेक्का एउटै कुललाई दिइएको थियो ? त्रेता युगमा सीतालाई पवित्रताको मुकुट लगाइयो, अनि बाँकी नारीलाई अप्रत्यक्ष रूपमा अपवित्र ठहर गरियो कि ? पवित्र नारीलाई आगोले केही गर्दैन भन्दै ६ महिनाको कोमल शिशुसहित नारीलाई आगोमा हाल्नु कुन बुद्धिमानी हुन आउँथ्यो होला र ? तर कलियुगमा हरेक नेपालीको विवेक यहि नै त थियो । लक्ष्मीदेवीलाई अग्निदेवले दण्डवत् गर्छन्, तर साधारण नारी आगोमा खरानी भइन् भनेर अपवित्र ठहरिन्छे । यो त मलाई न्यायभन्दा बढी व्यङ्ग्य लाग्छ । पवित्र नारीलाई अग्निले पनि डडाउँन सक्दैन भन्दै ६ महिने कोमल शिशुलाई आगोमा झोकेर, आजको नारी सीता सरह पवित्र हुँदैनन् भन्नु माहा मुर्खता लाग्छ मलाई यहाँ हरेक मानिसलाई अग्निले भष्म गर्छ । हाँड र छाला बाट बनेको मनुष्यको शरिर आगोको रापमा खरानी बन्नु प्राकृतिक कुरा हो । लक्ष्मीदेवी जसलाई साक्षत अग्नि देवताले दण्डवत प्रणाम गर्छन् उनलाई र साधारण नारीलाई एउटै अग्नि कुण्डमा होमेर ए यिनिहरु त खरानी भए अपवित्र रहेछन् भनेर भन्नु कहाँसम्म न्याय संगत हुन्छ होला त ? आजको कलियुगमा, जहाँ शरीर ढाकिएको नारीलाई पनि मनबाटै निर्वस्त्र पारिन्छ, जहाँ जन्म दिने बाबुआमाले नै छोरीको सौन्दर्य नापेर भविष्यको सौदा गर्छन्, जहाँ “साँचो बिसञ्चो” भन्दा “केटो को छ ?” भन्ने प्रश्न ठूलो हुन्छ कुनै नारी अपवाद बनेर सीता भन्दा पनि पवित्र भइन् भने के हुन्छ ? यहाँ कुनै नारी सीता भन्दा पवित्र भएर जन्मिइन भने के हुन्छ ? के उसलाई सीता भन्दा माथिल्लो दर्जा दिइन्छ, कि नयाँ किसिमको अग्निपरीक्षा तयार पारिन्छ ? कमल हिलोमै फुल्छ, गुलाब बगैँचामा – दुवै दागरहित हुन सक्छन्, तर संघर्ष कमलको धेरै हुन्छ । त्यसो भए कलियुगकी नारीको संघर्ष त्रेता युगकी सीताको भन्दा कम कसरी भयो ? के गुलाबको फूल हिलोबाट बच्नु र कमलको फुल हिलोबाट बच्नु,दाग रहित हुनुमा फरक छैन र ? कलियुगका त्यो तलाउ हो जहाँ कुईएको फोहोरहरु जम्छ र त्यसबिच कमले फुल्छ, जहाँ स–साना हावाका बहावमा पनि कमल दाग लाग्न पुग्छ । हो मान्छु गुलाबलाई पनि दागबाट जोगीन सहज छैन तर त्यसको संघर्ष कमलको फुल जतिको पक्कै हुने छैन । र यो प्रतिष्पर्धामा कमलले जित्छ – यसरी नै के कलियुगकी साधारण नारीले सिता भन्दा पवित्र स्थान पाउँन सक्लिन ?कलियुग त्यही हिलो हो, जहाँ हरेक मान्छे धोबी बनेर अर्काको चरित्र धुन व्यस्त छ । यहाँ वेश्यावृत्तिमा लागेकाले पनि नैतिकताको प्रवचन दिन्छन्, धर्मका ठेकेदारको आँखामा कामवासना टल्किन्छ, अनि सबै मिलेर नारीलाई मकै नङ्ग्याएझैँ नङ्ग्याउँछन् । अब विचरा भगवान के गरून् ? त्रेता युगमा एउटा धोबीलाई सजाय दिन सजिलो थियो, तर कलियुगमा त हरेक मान्छे धोबी छ । सबैलाई कुजो बनाउने हो भने पृथ्वी अपाङ्गशाला बन्छ । पाप–पुण्यको तराजु कति खुकुलो बनाउने ?
कलियुगका मानिसमा अनैठो होडवाजी चलेको देखिन्छ, म वेश्या पुरुष, तँ वेश्या, हामी सबै वेश्या समाजका प्रतिनिधि । अनि हैन छैन भन्दै लुकाउँने प्रवृति,अनि त्यस बिचमा आउँछ सबैलाई वेश्या प्रमाणित गर्नेको होडवाजी । यहाँ कसैले कसैलाई छाडेका छईनन्, फेरि यस लइनमा म त्यस्तो प्रवृत्तिको मानिस होईन भन्नेको होडवाजी फेरि अर्को समुह र विवाद फरक निस्कन सक्छ । तर केहि अपवाद बाहेक कलियुगमा हरेक व्यक्ति धोबी हो, हरेक व्यक्तिले आफ्नो आमा, दिदीबहिनी, छोरी र पर स्त्रीलाई मकै नङ्ग्याए झै नङ्ग्याउन छोडेको छईन । हरेक नारीको पवित्रता माथि प्रश्न चिन्ह ठडाएर गर्वले उभिएको छ कलियुग ?
एक धोबीको वाक्यका लागि दिइएको सजायभन्दा ८४ हजार गुणा ठूलो सजाय कलियुगका सबैलाई दिने कि धर्मको मापदण्ड नै लचिलो बनाउने त ? यदि पाप–पुण्यको तराजु खुकुलो भयो भने सीताको पवित्रता र आजको पवित्रताको मापन कसरी गर्ने ? त्रेता युगमा काव्य लेखियो तर सती प्रथामा जिउँदै चितामा बस्नुपरेका लाखौँ नारीको चिच्याहट कसले सुनेको थियो ? सती प्रथामा जलाइएका हजारौँ नारीका चित्कार कसको खातामा राख्ने ? विष्णुको, लक्ष्मीको, कि “समाज यस्तो थियो” भनेर उम्किने पुरुषप्रधान व्यवस्थाको ?
के ति हरेक चितामा होमीने नारी जसकोे चिच्चाहटको ध्वनि अनुसार को को भन्दा बढी पवित्र रहेछ भनेर दिईने सामाजिक मान्यताको लागी कतिले आफ्नो आग्नीले पोलेको शरीरको पिडा दवाए होलान्, कति बाल बिबाह र बिबाहको अर्थ पनि नजान्नेहरु सती भए होलान् के तिमीहरुको पवित्रता सीताको भन्दा उच्च थिएन होला त ? सती प्रथा केबल पवित्रताको नाममा थिएन, एउटा विधवा – छोरी, दिदीबहिनी, बुहारी, आमा हरेक सम्बन्धबाट कामवासनाको सिकार थिई त्यसैले त उँ बाच्नु भन्दा चितामा जलिनुमा सुख र सन्तुष्टिका अवशेषहरू भेटिन्थे । के यो परिणाम कुनै युगमा सीतालाई भगवान रामद्वारा त्रिकाल दर्शी विष्णुले गरेको अग्नि परिक्षाको कहिँ न कहिँ छाप थिएन र ? कहिँ न कहिँ जगतमाता लक्ष्मीले नारायणको प्रेममा लुप्त भएर गरेको भुल थिएन र ? लक्ष्मीले सम्पुर्ण नारीहरुको प्रतिनिधित्व गरेर नारीको सम्मान र अस्तित्वको हकमा न उभिएको परिणाम त थिएन ? यदि भगवान साँच्चै छन् भने ति लाँखौ महिलाको चित्कार, वेदना र आँसुको भार कसको होला – भगवान विष्णुको, माता लक्ष्मीको, चरित्र हिन नारीको वा ति कठोर पुरुषप्रधान समाजको ? के विष्णु बारम्बार श्रापित भएर तुलसी,पिपल बनेझै यसको लागी पनि पापी ठहरिदै वैकुण्ठ छोड्नु प¥यो होला त ? यदि माता लक्ष्मीको पाप र दोष देखिए उनको दण्ड के सुनाईयो होला ? अनि ति काम वासनाले ओतप्रोत पुरुष जातबाट बचाउँन अग्निमा होमिएका निर्दोष नारीहरुको चित्कारको पापको सजाय ति पुरुषलाई मिल्छ कि मिल्दैन होला ? यदि सती प्रथा पाप थियो भने जंगबहादुर राणा जसले सती प्रथाको अन्त्य गरे उनको धर्म र अधर्मको लेखा जोखा के कसरी भयो होला है ?
यही भएर होला, भगवान आजभोलि बैंकको आर्थिक वर्षको अन्तिम दिनजस्तै व्यस्त छन् । फाइलमाथि फाइल, पापमाथि पाप, कसको सजाय पहिला तोक्ने भनेर टाउको दुखाईमा । हरेक व्यक्ति पापी छन् , हरेक व्यक्ति धोबी छन्, हरेक व्यक्ति काम वासना र स्वार्थमा ओतप्रोत छन् । अरु कसैको बारेमा कुभलो र कुमनस्थिति नराखी समय बिताउँनै सकेका छैनन् कलियुगका मनुष्यहरु ।
अब भगवान छन् भने साँच्चै के गर्छन् होला है । बिचरा बास्तविक न्याय नै हेर्ने हो भने विष्णु र लक्ष्मी वैकुण्ठमा छैनन्, अब बम्हा र भगवान शिवको काम मा निकै भ्याई नभ्याई छ होला ? धन्न बम्हा बा को चार ओटा शिर छ र नत्र इन्द्रदेव अप्सरामा लिप्त , दुई भगवानले कति सम्म पापीहरूको सजाय र सिमा निर्धारण गर्न सकुन ।
अब हरेक जन्मने मानिसहरु धोबी हुने भए, जसलाई सजाय सुनाउँनै प¥यो, अर्को जन्ममा अपाङ्ग बनाउँनै प¥यो । कहि न कहि यसो निरिक्षण गर्दा कलियुग कहिल्यै नसकिएला जस्तो छ र भगवानको व्यस्तता पनि । ऊफ भगवान, जहाँ सम्म धर्मग्रन्थहरु पढेसम्म हरेक पापीलाई समान दर्जामा राखेर सजाय सुनाउँनु प¥यो, अब ति सती प्रथामा नारीलाई जलाएर उनिहरुको आग्नी जलनको चित्कारलाई अपवित्रताको सङ्ग्या दिने सबलाई फेरि अब आउँने जन्महरुमा “पति– सती” प्रथा स्थापित गरेर जलाउँने र डडाउँने गर्नुप¥यो विचरा गाह्रो छ भगवानलाई । यदि भगवानको अस्तित्व यथार्थमा छ भने विचरा मेरो भगवानहरुलाई साँश फेर्ने फुर्सद छैन । खै दान गर्न आउँदैन र मात्र हो नत्र धेरै होईन आज रातको निन्द्रा म भगवानको निमित्त दान गर्न चाहान्थें, के गर्नु निकै समस्या र वित्यासमा हुनुहुन्छ भगवानहरु साह्रै माया र दया जागेर आयो । आजको रात भगवानलाई सम्झेर, भगवानको पिर चिन्ताले हराएर गयो । बेला बेलामा मन्दिर धाउँने गर्दथें, भगवानसँग आफ्नो प्रदोन्ति र सफलता माग्नलाई अचम्ममा पर्दथें मेरो कुरा भगवान सामु किन पुगिरहेको छैन भनेर । आज रातभर भगवानप्रतिको दया बेलिविस्तारमा केलाउँदा थाहाँ हुँदैछ विचरा कलियुगका मानिसको पापको पोको मिलाउँदैमा सकि नसकि रहेछ भगवानलाई । विचरा वैरागी शिव भगवान कहिले कलियुग सकिएला र भाङ्ग, धतुरोको आनन्दमा रमाउँला भन्दै कल्पदै होलान । कहाँ मेरो माग सुन्ने फुर्सद उहाँलाई ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।