रामारोशन स्काइ रन असार ३ मा हुने
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ २०।
नेपाल एडभेन्चर रनिङ महासंघको आयोजनामा रामारोशन स्काइ रन सुदूरपश्चिम प्रदेशको अछाममा असार ३ गते हुने भएको छ ।
दौडमा बढीमा १ सय खेलाडीलाई सहभागी गराइने आयोजक महासंघका अध्यक्ष एकेन्द्र कुँवरले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सुरुमा नाम दर्ता गर्ने ३० सहभागी खेलाडीले यातायातसहित आवास र खानाको व्यवस्था गरिने छ । बाँकी सहभागीलाई आवास र खानको व्यवस्था मिलाइने आयोजकले जनाएको छ । मंगलबारैदेखि खेलाडी आवेदन दर्ता खुला गरिएको छ ।
दौड २८ किलोमिटर दूरीको हुनेछ । अछामको रामारोशन गाउँपालिकास्थित रामेखण्ड (२१५० मिटर उचाइ) बाट सुरु भइ जिइगले ताल, लामादह ताल, रोशन पाटन, चांखापाट (३८२० मिटर उचाइ), किनिमिनीपाटन हुँदै पुनः रामेखण्डमा आएर टुंगिने छ । दौडको रुटमा ६–६ वटा वाटर प्वाइन्ट र चेक प्वाइन्ट निर्धारण गरिएको छ ।
दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १ लाख, ७५ हजार र ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । शीर्ष दस स्थानमा दौड पूरा गर्नेलाई पनि नगद पुरस्कार दिइने छ ।
त्यस्तै स्थानिय प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले यु–२० उमेरसमूहको पुरुष÷महिला ५ किलोमिटर दूरीको दौड पनि हुनेछ । पहिलो हुनेले २० हजार, दोश्रोले १५ हजार र तेश्रोले १० हजारका दरले नगद पुरस्कार पाउने छन् । दौड सञ्चालन गर्न करिब ४० लाख खर्च हुने आयोजक महासंघका वरिष्ठ उपाध्यक्ष राजन खत्रीले जानकारी दिए ।
पत्रकार सम्मेलनमा अध्यक्ष कुँवरले विश्व स्काइ रन च्याम्पियनसिप आयोजनाका लागि नेपालले दाबी पेश जानकारी गराउदै त्यसैको प्ररिक्षणका रुपमा समेत रामारोशन स्काइ रन महत्वूर्ण हुने बताए ।
