राष्ट्रिय जेनजी–नागरिक अभियानले भन्योः बालेन सरकारमाथि हाम्रो निगरानी

राष्ट्रिय जेनजी–नागरिक अभियानले भन्योः बालेन सरकारमाथि हाम्रो निगरानी

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ ३।

राष्ट्रिय जेनजी–नागरिक अभियानले वर्तमान सरकारले जनतामाथि क्रुर शासन चलाएको आरोप लगाएको छ । शनिवार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी आफूहरुको ‘बालेन’ सरकारमाथि निरन्तर निगरानी रहनेसमेत बताएको छ ।

अभियानका संयोजक सुनिल सिंहले वर्तमान सरकार राष्ट्रिय स्वाधीनताको मुद्धामा मौन रहने र जनतामाथि अत्याचारी बनेको आरोप लगाए । “नेपाली भूमि लिपुलेकमा भारतीय रवैयाप्रति चुपचाप बन्ने तर जनतामाथि निरङ्कुश र तानाशाही प्रवृत्तिका विरुद्ध हामी चुप रहन सक्दैनौं” सिंहले चेतावनी दिए ।

सह–संयोजक अजय सोडारीले संसद भवन, सिंहदरबार जल्दा चुप लाग्ने सेनाले सुकुम्बासी बस्तीमा डोजर लगाउन आएको भन्दै आक्रोश व्यक्त गरे । “वर्तमान सरकारमा ‘होसभन्दा जोश’ बढी छ, जसले विधिको शासन, थितिको शासन, प्रणालीको शासन र कानुनी राज्यको उपहास गरेको छ” सोडारीको कथन छ ।

अभियानका प्रवक्ता विर्जन विश्वकर्माले जेनजीको बलबाट आएको सरकारले गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको छानविन समितिको प्रतिवेदन अनुसार न्याय दिन नसकेको भन्दै रोश व्यक्त गरे । विश्वकर्माले राष्ट्रिय मानवअधिकार अयोगले तयार पारेको प्रतिवेदन पनि तत्काल सार्वजनिक गर्न माग गरे ।

अभियानका सचिव प्रकाश बमले प्रधान न्यायाधीश तथा न्यायाधीश नियुक्ति र अन्य संवैधानीक नियकायका प्रमुखहरुको नियुक्ति योग्यता र प्रतिश्पर्धाका आधारमा हुनुपर्नेमा पुरानै प्रवृत्ति दोहोरिएको भन्दै आक्रोश व्यक्त गरे ।

अभियानका सुनिल विकले भारतले नेपालको कालापानी र लिपुलेक क्षेत्रबाट आफ्नो सेना नहटाए राष्ट्रिय मुक्तिको लडाई लड्नुपर्ने धारणा राखे।
अभियानका शुशिल बुढाथोकीले विकल्प विना नै सुकुम्बासी बस्तिमा डोजर लगाउने कार्य गैर कानुनी मात्रै नभएर मानवताविरोधी कार्य भएको बताए । अभियनका जनम सिंहले वर्तमान सरकारको कुटनीतिक अपरिपक्वताको कारण राष्ट्रियता संकटमा गएको आरोप लगाए ।

तपाइँको प्रतिक्रिया ।