भारतीय नागरिकद्वारा सिनेमा हलमा चोरीको प्रयास
रत्ननगर (चितवन), १ मङ्सिर । चितवनको सुविधायुक्त जलमा सिनेमाहलमा सिसी क्यामेराको तार चुँडालेर चोरीको असफल प्रयास भएको छ । एक भारतीय पक्राउ परेका छन् । सिसी क्यामेरामा सबै कुरा देखिन्छ भनेर उनले पहिले क्यामेराको तार चुँडालेका थिए ।
चितवनका प्रहरी नायब उपरीक्षक राजन अधिकारीका अनुसार गएराति करिब १२÷१ बजेको समयमा यस्तो घटना भएको हो ।
सिनेमा हलमा राखिएको सिसी क्यामेराको तार काटी ढोकाको तालासमेत फोरेर चोरीको असफल प्रयास भएको अधिकारीले बताउनुभयो । सोही घटनामा हलको इलेक्ट्रिसिएन काम गर्ने एकजना भारतीय नागरिकलाई राति नै पक्राउ गरिएको छ ।
अधिकारीका अनुसार भारत उडिसा घर भई विगत एक वर्षदेखि चितवनमा बसेर इलेक्ट्रिसिएन काम गर्ने २० वर्षीय अर्जुनकुमार जेन क्षेत्री पक्राउ परेका हुन् ।
अनुसन्धान गर्दै जाँदा अन्य केही व्यक्तिसमेत परेको र खोजी भइरहेको प्रहरीले जनाएको छ । जलमा हलका सञ्चालकले काममा लगाइदिन्छु भनेर नलगाइदिएकाले आफूले यस्तो गरेको उनले प्रहरीलाई बयान दिएको जनाइएको छ ।