बुढानीलकण्ठ नगरपालिकामा महिला शिक्षा अभिमुखिकरण कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाण्डौ ,चैत १६।
बुढानीलकण्ठ नगरपालिकामा महिला शिक्षा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। संस्थागत विद्यालय शिक्षक युनियन राष्ट्रिय समितिक बरिष्ठ उपाध्यक्ष तथा महिला अध्यक्ष सरिता निरौलाको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा शिक्षा क्षेत्रमा महिलाको भूमिका, सशक्तिकरण तथा नेतृत्व विकासका विषयमा व्यापक छलफल गरिएको थियो।
कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए। महिला शिक्षाको प्रवर्द्धन र सशक्तिकरण बिना समृद्ध समाज निर्माण सम्भव नभएको उल्लेख गर्दै यस्ता कार्यक्रमहरूले महिलाहरूलाई थप आत्मविश्वासी र सक्षम बनाउने विश्वास व्यक्त गरेका थिए।
नगर उपप्रमुख अनिता लामा र शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रतिनिधि ललित विक्रम सिंहको विशेष उपस्थिति रहेको कार्यक्रममा शिक्षा क्षेत्रमा देखिएका चुनौतीहरू, अवसरहरू तथा महिलाको सहभागिता अभिवृद्धि गर्ने उपायहरूबारे सहभागीहरूबीच अन्तरक्रिया गरिएको थियो।
