ऋषि धमलाको नेतृत्वमा ५१ सदस्यीय स्वतन्त्र नागरिक समूह नेपाल घोषणा

ऋषि धमलाको नेतृत्वमा ५१ सदस्यीय स्वतन्त्र नागरिक समूह नेपाल घोषणा

कपन अनलाइन
काठमाण्डौ ,चैत १५।

ऋषि धमलाको नेतृत्वमा ५१ सदस्यीय स्वतन्त्र नागरिक समूह नेपाल घोषणा गरिएको छ । ‘समयमा काम, तत्काल परिणाम’ मूल नारा दिएर यो समूह घोषणा गरिएको हो । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उक्त समूहको घोषणा गरिएको छ । यसको अध्यक्ष ऋषि धमला र सचिवमा भने हेमराज अधिकारी रहेका छन् । यो समूहले बालेन शाह नेतृत्वको वर्तमान सरकारलाई सहयोग गर्ने घोषणा गरेको छ। नयाँ सरकारसँग मिलेर काम गर्ने भनेर अभियानले ३१ बुँदामा समेटेर सहयात्रापत्र पनि तयार पारेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ऋषि धमलाले आजको दिन मुलुकको लागि ऐतिहासिक दिन भएको पनि स्मरण गराए । अब मुलुक विकास र समृद्धिको यात्रामा अघि बढ्ने सुरुवातको दिन भएको भन्दै उनले आजको दिनलाई विशेष मानेका छन् । उनले राणाकालिन प्रधानमन्त्री जंगबहादुर राणा र प्रजातान्त्रिक कालमा विपी कोइरालाको प्रधानमन्त्री कालपनि स्मरण गराए । आज युवा नेता बालेन्द्र शाह प्रधानमन्त्री बनेको भन्दै देशभरिका जनता खुशी बनेको र उत्साही रहेको धमलाको भनाई छ । उनले भने,‘मैले पनि देशभरिका जनतासँग कुरा गरेको छु, उहाँहरु खुशी हुनुहुन्छ, अब त देशमा केही हुन्छ भनेका छन्, यो सरकारले जनताको चाहनाअनुसार काम गर्नुपर्छ । आजको दिन हामीले पनि एउटा अभियान सुरु गरेका छौं ।’
धमलाले अब जनताले समयमै काम र तत्काल परिणाम खोजेको भन्दै नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई जनताले पनि एक्सन–ओरिएन्टेड प्रधानमन्त्रीको रुपमा हेर्न चाहेको बताए । यो अभियानमा देशभरिका युवा जोडिएको र यसलाई राष्ट्रयव्यापी बनाउने पनि धमलाको भनाई छ । यो अभियानलाई आफूहरुले ७५३ वटै तहमा लैजाने र वडा तहसम्म विस्तार गर्ने पनि उनले योजना सुनाए । उनले भने,‘हाम्रो काम भनेको सरकारलाई सहयोग गर्ने हो । जनताको चाहनअनुसार काम गर्न सरकारलाई समर्थन गर्ने र सफल बनाउने हो । जनताको काम गर्नको लागि सरकारलाई घचघचाउने हो । जनादेशबाट बनेको सरकार हो, यो सरकारसँग मिलेर काम गर्नुपर्छ । अहिले सरकारको विरोध गर्ने होईन ।’ उनले पूराना दल र यसका शीर्ष नेताहरुलाई पनि धमलाले वर्तमान सरकारको विरोध नगर्न सुझाव दिए । ३५ वर्ष देशको नेतृत्व गरेका पूराना दलका पूराना नेताहरुले देशलाई सुशासन र विकास नदिएर भ्रष्टाचार र कुशासन दिएको धमलाको आरोप छ । उनीहरुले देशमा भएका उद्योग÷धन्दा पनि बन्द गरेको र युवाहरुलाई रोजगारी दिन नसकेको उनको आरोप छ । उनले भने,‘देश बनेन । देश बनाउने अवसर ठूला दल र यसका नेताहरुले पाएकै हो ।’
उनले रास्वपाका सभापति रवि लामिछानेले बालेन शाहलाई प्रधानमन्त्री बनाएर राम्रो काम गरेको र लामिछानेले त्याग गरेको भन्दै प्रशंसा गरे । तर, नेपालको इतिहासमा पार्टीभित्रको आन्तरिक द्वन्द्वले कुनैपनि सरकार पाँच वर्ष नटिकेको पनि उनले स्मरण गराए । उनले बालेन शाह नेतृत्वको वर्तमान सरकारले पाँच वर्ष काम गर्न पाउनुपर्ने बताए । आफूहरुको अभियान भनेको देश बनाउने र देश बदल्ने रहेको उनको भनाई छ । उनले प्रधानमन्त्री बालेन शाहलाई शिक्षा र स्वास्थ्य निःशुल्क गर्नको लागि निर्णय गर्न पनि सुझाव दिए । उनले अब युवाहरुलाई गाउँगाउँमा विकास पुर्याएर रोजगारी दिनुपर्नेमा बताए । वडा सदस्यदेखि सिंहदरबारको कुर्सीमा बस्ने सबैको सम्पत्ति छानबिन गरेर सार्वजनिक गरिनुपर्ने र अकुत सम्पत्ति कमाउनेहरुको सम्पत्ति राष्ट्रियकरण गरिनुपर्ने उनको भनाई छ । एक साताभित्र सम्पत्ति विवरण सार्वजनिक गर्न पनि बालेन सरकारका सबै मन्त्रीहरुलाई सुझाव दिए । सबै सांसदहरुको सम्पत्ति सार्वजनिक हुनुपर्ने उनको मत छ ।
उनले जेनजी आन्दोलनमा दमन गर्नेहरुलाई कारबाही गर्नपनि गृहमन्त्री सुधन गुरुङलाई सुझाव दिए । उनले भने,‘म गृहमन्त्रीजीलाई यही मञ्चबाट आग्रह गर्न चाहन्छु–जेनजी आन्दोलनमा दमन गर्नेलाई कारबाही गर्नुहोस, जाँचबुझ आयोगको प्रतिवेदन पनि आईसकेको छ, यो प्रतिवेदनलाई कार्यान्वयन गर्नुहोस । यसमा ढिलाई नगर्नुहोस ।’ आफूहरु अब अभियान लिएर गाउँगाउँमा जाने पनि धमलाको घोषणा छ ।
धमलाले विगतमा आफूबाट पनि गल्ती तथा कमिमजोरी गरेको भएपनि अब आईन्दा देश बनाउनको लागि गल्ती नगर्ने पनि प्रण गरे । उनले अब देशव्यापी रुपमा अभियान लिएर जाने र विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सुझा लिएर काम गर्ने घोषणा गरे ।
अभियानले राष्ट्र निर्माणको लागि ३१ बुँदे प्रतिबद्धता पनि सार्वजनिक गरेको छ । जसलाई बालेन सरकारसँगको सहयात्रापत्र पनि भनिएको छ । प्रतिबद्धतामा बालेन सरकारलाई अवरोध नभई सहयोग गरिनुपर्ने, जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन, शिक्षा र स्वास्थ्य निःशुल्क र समान अवसर, व्यवहारिक शिक्षा र रोजगारीको सुनिश्चितता, सुशासनयुक्त र भ्रष्टाचारमुक्त राज्य, राज्यको नियुक्तिमा योग्यतालाई प्राथमिकता, हरेक पेशामा लाइसेन्स प्रणाली अनिवार्यदेखि निसन्तान दम्पत्तिलाई सहयोगसम्मका कुरा समेटिएका छन् ।

तपाइँको प्रतिक्रिया ।