काठमाडौं क्षेत्र नं ३ मा रमेश अर्याल जित नजिक……
कपन अनलाइन
काठमाण्डौ ,फागुन १५।
देशका १६५ निर्वाचन क्षेत्र मध्य यसपटक पनि केही निर्वाचन क्षेत्रमा जनताको बढी चासो छ । त्यसमध्ये काठमाडौं जिल्लाको क्षेत्र नम्बर-३ पनि एक हो । यहाँ नेपाली कांग्रेस र नेकपा एमालेले स्थानीय रमेश अर्याल र रामेश्वर फुयाललाई उम्मेदवार बनाउदा उज्यालो नेपाल पार्टीले आफ्नै अध्यक्ष कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन साहका विश्वासपात्र राजुनाथ पाण्डेलाई उम्मेदवार बनाएको छ। यसअघि नेपाली कांग्रेस र एमाले बिच प्रतिस्पर्धा हुने गरेकोमा यसपटक उज्यालो र रास्वपा पनि थपिएका छन् ।
यद्यपि कांग्रेसका रमेश अर्याल र एमालेका रामेश्वर फुयाल भन्दा उज्यालोका कुलमान घिसिङ अनि रास्वपाका राजुनाथ पाण्डे कमजोर देखिएका छन् । स्थानीयले नयाँ र परिवर्तन पक्षधर खोजिरहेका बेला बदलिएर आएको कांग्रेस र उसले उठाएको उम्मेदवार नै नयाँ र स्वच्छ छविको भएको देखिन्छ। एमाले उम्मेदवार फुयाल प्रती पनि मतदाता सन्तुष्ट देखिदैनन। संघीय सांसद,प्रदेश मन्त्री हुँदा पनि फुयालले आफ्नो घर वरिपरि केही खुत्रुके योजना पारेको भनिएपनी त्यसको अनुभूति क्षेत्रभरीका जनताले गर्न नपाएको गुनासो छ। त्यसैले यसपटक फुयाललाई पनि चुनाव जित्न कठिन छ।
उनको आफ्नै बिगतको काम र राष्ट्रिय राजनीतिमा एमाले पार्टीले गर्छु भनेर नगरेको काम तथा पार्टी शिर्ष नेताले दिएको गफलाई चिर्न र मतदाता फकाउन फुयाललाई गार्हो देखिन्छ।’उहाँलाई दुई पटक अवसर दिइसकेका छौं । एक पटक त मन्त्री पनि बन्नुभयो तर, उहाँको कार्यकालमा यस क्षेत्रले के पायो?’ कागेश्वरी-१ मा भेटिएका मतदाता भन्छन् -‘कागेश्वरी धाम जाने बाटो हेर्यो उस्तै बिजोग छ,गोकर्णेश्वरको उत्तरगया क्षेत्रको विकासको कुनै ठोस योजना पनि बनेन। दुई पटकको असफल अनुभवपछि पनि उहाँले फेरि उम्मेदवारी दिनु भनेको यस क्षेत्रप्रति उपेक्षा र जनताको बुद्धिको अपमान हो।’ उता काठमाडौं महानगरमा हुँदा बालेन साहको रोजाइमा परेर महानगर प्रहरी प्रमुख हुँदै अहिले बालेन टिमबाट नै सांसदको टिकट पाएका राजु पाण्डेलाई यस क्षेत्रको कुनै सरोकार छैन भन्ने मतदाताको कुरा सुनिन्छ । यहाँका मतदाता भन्छन् -‘उहाँहरू (कुलमान वा राजु पाण्डे) न त यहाँ बस्छन्, न त यहाँका समस्या बुझ्छन्।
गोकर्णेश्वरको खानेपानी समस्या, कागेश्वरीको कृषि बजार अनि कामपा वडा नम्बर-६ मा हुने सडक अवरोध जस्ता कुरामा उहाँहरुले कहिले के गर्न सक्नुहुन्छ र भोट दिएर जिताउनु ? यहाँको समस्या त यहीँ अर्याल गाउँकै मान्छेले पो बुझेको हुन्छ।’ त्यसैगरी मतदाताको अर्को गुनासो भनेको यस क्षेत्रका वास्तविक मुद्दामा कुलमान,राजु पाण्डे वा रामेश्वरको कुनै अध्ययन छैन र समाधान गर्न सक्ने योजना र क्षमता पनि छैन। राजु पाण्डेको उम्मेदवारी केवल बालेनको व्यक्तिगत महत्वकांक्षा र शक्ति केन्द्रीकरणको एउटा मोहरा मात्र भएको स्थानीयको बुझाइ छ। त्यस्ता उम्मेदवारको वास्तविक ध्येय जनसेवा भन्दा काठमाडौं भित्रको सिट कब्जा गर्ने रणनीति मात्र हो।
त्यसैगरी उज्यालो नेपाल पार्टीका उम्मेदवार कुलमान घिसिङलाई पनि जित्ने ठाउँ कतै नभेटेपछि काठमाडौं-३ मा आइपुगेको तर, यस क्षेत्रको विकास र जनताको समस्यामा कुनै सरोकार नभएको मतदाताको बुझाइ छ। ‘उहाँले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकका रूपमा गरेको योगदानको हामी सम्मान गर्छौं, तर राजनीति र प्रशासन फरक कुरा हुन्’ कामपा-६ बौद्धका एक स्थानीय भन्छन् -‘कुलमान घिसिङ यहाँका स्थानीय बासिन्दा पनि होइनन्। उहाँको पार्टीको भिजन र उद्देश्य पनि स्पष्ट छैन ।
लोकप्रिय छविको दुरुपयोग गरी संसद्मा पुग्ने मात्रै उदेश्य देखिन्छ। त्यसैले हामी एक थान सांसद मात्रै जित्न खोज्ने उम्मेदवारलाई किन भोट दिनु ?’ मतदाताका कुरा सुन्दा र यहाँको स्थलगत रिपोर्टिङ गर्दा के थाहा भयो भने केही गर्न सक्छु भन्ने जोश जाँगर भएको र नयाँ पनि अनि स्थानीय पनि भनेको रमेश अर्याल नै हो। रमेश अर्याललाई मत दिएर यसपटक कांग्रेसलाई जिताउने मतदाताको यो निर्णयले अहिलेसम्मको प्रतिस्पर्धामा रमेश अर्याल जितको नजिक रहेको देखिन्छ।
