नेपालमै पहिलो ह्वीलचेयर रग्बी मैत्रीपूर्ण खेल सम्पन्न, बिआइए इन्स्टिच्युट विजयी
कपन अनलाइन
काठमाडौं,पुस ४।
आयोजक बिआइए इन्स्टिच्युटले नेपालमै पहिलोपटक आयोजना भएको ह्वीलचेयर रग्बी मैत्रीपूर्ण प्रतियोगिताको उपाधि जितेको छ।
बिहीबार बौद्धस्थित डाउनटाउनमा सम्पन्न खेलमा बिआइएले स्पाइनल इन्जरी संघ नेपाललाई ५–३ स्कोरले पराजित गर्दै उपाधि हात पारेको हो।
गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५, नेपाल रग्बी संघ तथा नेपाल स्पाइनल कर्ड इन्जरी संघको सहयोगमा सम्पन्न यो प्रतियोगिता नेपालमा ह्वीलचेयर रग्बी खेलको पहिलो औपचारिक खेल हो।
विजेता टोलीले ट्रफी र मेडल प्राप्त गरेको छ। खेलाडीहरूलाई नेपाल रग्बी संघका अध्यक्ष दिपक देवकाेटा, गोकर्णेश्वर–५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी, अमेरिकी दूतावासका राजनीतिक अधिकृत ब्लेक गिरागोस, बिआइएका कार्यकारी निर्देशक गोकर्ण ढुंगाना तथा नेपाल स्पाइनल इन्जरी पुनर्स्थापनाका डा. राजु ढकाललगायतले पुरस्कार वितरण गरेका थिए।
प्रतियोगितामा बिआइएका प्रकाश बस्नेत उत्कृष्ट खेलाडी घोषित भए भने स्पाइनल इन्जरी संघ नेपालका अनन्त राई ‘इमर्जिङ प्लेयर’ घोषित भए। दुवै खेलाडीले पुरस्कारस्वरूप एयर कुशन प्राप्त गरे।
