बाल विकास सिङ्गिङ आइडल सम्पन्न
कपन अनलाइन
काठमाण्ड,मङ्सिर ७।
बुढानीलकण्ठमा अवस्थित बाल विकास बोर्डिङ हाई स्कुलले भव्यताका साथ बाल विकास सिङ्गिङ आइडल सम्पन्न गरेको छ । विद्यालयका सङ्गीत शिक्षक बलराम समाल र अतिरिक्त क्रियाकलाप संयोजक सुकमान लामाको प्रशिक्षणमा प्रशिक्षित विद्यार्थीहरूले उक्त प्रतियोगितामा उत्कृष्ट प्रस्तुति प्रस्तुत गर्दै उपस्थित सबैलाई मन्त्रमुग्ध बनाएका थिए ।
विद्यालयका कार्यवाहक प्रधानाध्यापक दिनेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रम दुई समूहमा आयोजना भएको थियो । पहिलो समूहमा कक्षा २ देखि ५ सम्मका र दोस्रो समूहमा कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरू सहभागी थिए । दुबै समूहको प्रतियोगितामा प्रतियोगीहरूको कर्णप्रिय आवाजले मञ्चलाई गुञ्जायमान बनाएको थियो ।
पहिलो समूहमा कक्षा ४ मा अध्ययनरत दिक्षेन तितुङ ,कक्षा ३ मा अध्ययन लेख कुमारी तामाङ ,कक्षा ३ मा अध्ययनरत खुसी भुजेल र कक्षा ४ मा अध्ययनरत कृतिका चन्द क्रमशः प्रथम ,द्वितीय ,तृतीय र सान्त्वना पुरस्कार हासिल गर्न सफल भएका थिए । त्यसैगरी दोस्रो समूहमा कक्षा ७ मा अध्ययनरत शुभन भण्डारी ,कक्षा ६ मा अध्ययनरत कृतिका तामाङ ,कक्षा ६ मा अध्ययनरत सुस्मिता तामाङ र कक्षा ८ मा अध्ययनरत संरक्षण मगर क्रमशः प्रथम ,द्वितीय ,तृतीय र सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएका थिए ।
प्रतियोगितामा विजयी विद्यार्थीहरूले ट्रफी ,मेडल तथा प्रमाणपत्र हासिल गर्न सफल भएका थिए भने निर्णायक तथा सङ्गीत शिक्षकको सुमधुर आवाजले कार्यक्रमलाई अझै उत्कृष्ट बनाएका थिए ।
