प्रख्यात यो दोलखा : बासुदेव पौड्याल (कविता )

प्रख्यात यो दोलखा :  बासुदेव पौड्याल (कविता )

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक २२।

कालिञ्चोक रमाइलो प्रकृतिका दैवी छटा झल्कने
उच्चा शोभित शैल हिम पहरा चट्टान काला हुने ।
लाली राप बिहान झल्मल सफा हावा चिसो सर्सर
पर्या प्राकृतका बजार कुरि झन् नौला जता सुन्दर ।।

देवी शक्ति उपासना थल छ यो आराधना शंकर
घण्टी दान पुजाइ मा त्रिशुल छन् साक्षी तिनै निर्भर ।
तात्यो हुस्सु उभार शैल शिरमा घुम्टी पछ्यौरी तल
लाली उष्ण वसन्त पात लहरा लाली गुराँसे घर ।

यो यात्रा पथ दोलखा सुगम भो पुर्बी पहाडी शिर
खेती गोठ किसान अन्न फलमा बांच्यो स्वयम् निर्भर ।
थुम्का सैलुङमा सयौ हरित छन् झुल्के परेली भरी
सल्लेरी बन बाग पुष्प लहरा नाचे परी माधुरी ।।

मीठो आलु प्रसिद्धको थल मुढे हावा चिसो सर्सर
कान्ला खेत बजार आलु अदुवा ताजा अरे भर्खर ।
खाने आलु मुला पकाइ घरमा स्वादिष्ट भान्छा भयो
राताआलु मुढे प्रख्यात धरती यात्रा सुनौलो बन्यो ।।

नेपाली मिनि ग्रेटवाल छ यहाँ डाँडा पखेरा सित
पन्छी कुक्कु चरा सुवास लहरा झ्याँउँकिरी संगित ।
सेतो शैल हिमाल छन् क्षितिजमा संध्या उषा चाँदनी
प्यारो गौरव दोलखा धरण यो नेपालको आँगनी ।।

थुम्का शैलुङमा सयौ हरितका घुम्टो चुली माधुरी
गौरी शंकरले चुमे क्षितिजमा सम्मोह प्यासी रवि ।
हुस्से बादलमा छटा तरलता आकाशका नौ लखा
चौंरी खर्क हिमाल स्वर्ण सरिता प्रख्यात यो दोलखा ।।

सहकार्य ; कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।