कथाकार होमशङ्कर बास्तोलाको कथासङ्ग्रह ’रगतको मूल्य’ लोकार्पण

कथाकार होमशङ्कर बास्तोलाको कथासङ्ग्रह ’रगतको मूल्य’ लोकार्पण

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक १४।

कथाकार होमशङ्कर बास्तोलाको कथासङ्ग्रह ’रगतको मूल्य’ एक समारोहबीच लोकार्पित भएको छ ।
सुनकोशी वाङ्मय प्रतिष्ठानद्धारा कार्तिक १३ गते विहिबार राजधानीमा आयोजित एक कार्यक्रममा साहित्यकारहरु श्रीओम श्रेष्ठ रोदन, छविरमण सिलवाल, आर एम डंगोल, कृतिकार होमशंकर बास्तोला र प्रदीप सापकोटा, रोजु गौतम लगायतले संयुक्त रुपमा उक्त कथाकृति लोकार्पण गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ’रोदन’ले हरेक मानव जीवनमा कुनै न कुनै कथा हुन्छन् तर त्यसलाई कसरी प्रस्तुत गर्ने भन्ने मात्र मुख्य कुरा हो । पाठकलाई अनुभूत र द्रवित गराउने क्षमता जसमा हुन्छ ऊ राम्रो कथाकार हुने बताउनु हुँदै बास्तोलाका कथाहरुमा पनि उक्त क्षमता रहेको बताए ।
समालोचक आर एम डंगोलले कृति सामाजिक यथार्थपरक कथाहरूले भरिएको बताउनु भयो । उहाँले ’अधिकांश कथाको बुनोट यही समाजका विषयबस्तु रहेका र स्थान विशेष पात्रहरू रहेका कथाहरू सहज र स्वाभाविक रहेको बताए  । कथाहरू समय सापेक्ष र समाजमुखी रहनुका साथैे मैनालीकै लाइनमा कथाकार बास्तोला उभिएको बताउनु भयो । कथाकारले जहाँजहाँ कार्यथलो बनाए, त्यहाँ त्यहाँ भेटेका पात्र र तीनको चरित्रलाई कथानक रुप दिएको  उनले  बताए  ।

समीक्षक प्रदीप सापकोटाले आयामका हिसाबले लघु र मध्यम आयामका १९ वटा कथा रहेको रगतको मूल्यभित्र सत्यका निकट रहेर लेखिएका कथाहरू छन् । जसमा सामाजिक परिवेशबाट निर्मित चरित्रहरू प्रस्तुत गरेका बास्तोलाका कथाहरूका पात्रहरू हाम्रै समाज वरपर, हाम्रै नाता सम्बन्धका जस्ता लाग्छन् । पात्रहरूलाई जीवन्त बनाउन स्थानीय परिवेश र लवजलाई टिपेर कथा बुनोट गरिएको छ । कथाका विषयवस्तु, थिम र पात्रहरूमा नविनता नभए पनि पाठकलाई पढ्दै जाँदा तान्दै लाने खुवी कथाकारमा रहेको सापकोटाले बताए  ।
रगतको मूल्यका स्रष्टा बास्तोलाले रचना गर्भ बारे आफ्ना कुरा राख्दै समाजका हर्ष, विस्मात, खुशी, प्रेम, पीडा, विकृति र विसंगतिलाई टिपेर आफुले कथा लेखेको बताए ।
कार्यक्रममा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, साझा प्रकाशनका भेषराज घिमिरे, साहित्यकार बोधराज पौडेल लगायतले शुभकामना मन्तव्य राखेको  उक्त कार्यक्रममा साहित्यकारहरू चेतनाथ धमला, नवराज रिजाल, प्रतिरोध कार्की, राजेश खनाल, मनोज न्यौपाने, विकल त्यागी, त्रिलोचन आचार्य, गणेशकुमार मिश्र, लक्ष्मणप्रसाद अधिकारी, तुलसीहरि कोइराला, रोजु गौतम, विमला भट्टराई, वसन्तराम नकर्मी, सस्मिता पाठक लगायतका सर्जकहरूको उपस्थिति रहेको थियो ।
सुनकोशी वाङ्मय प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालको अध्यक्षता तथा सदस्य पूर्णबहादुर श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको उक्त कार्यक्रम इखबरनेट मिडिया पार्टनर रहेको थियो ।लोकार्पित कृति साझा प्रकाशनले प्रकाशित गरेको हो ।

 

तपाइँको प्रतिक्रिया ।