नेपाली फूललाई प्रोत्साहन गर्न काठमाडौँ महानगरले तोक्यो ३२ स्थानमा विक्री केन्द्र
कपन अनलाइन
काठमाण्डौ ,असोज २५।
काठमाडौँ महानगरपालिकाले नेपालीहरूको महान् चाड तिहार (दीपावली) को अवसरमा नेपाली किसानले उत्पादन गरेका फूलमालाको बिक्री–वितरणलाई प्रोत्साहन गर्न ३२ स्थान तोकेको छ। यो अभियानको उद्देश्य आयातित र प्लास्टिकजन्य फूलमालाको प्रयोगलाई पूर्ण रूपमा निषेध गर्दै स्वदेशी उत्पादनलाई प्राथमिकता दिनु हो। महानगरपालिकाले विगत तीन वर्षदेखि तिहारको समयमा स्वदेशी फूलको प्रवर्धनका लागि बिक्री स्थल व्यवस्थापन गर्दै आएको छ।
महानगर प्रमुख बालेन्द्र शाहले भन्नुभयो, “हामी विगत तीन वर्षदेखि स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै आयातित वस्तुको निरुत्साहन गर्न निरन्तर लागि परेका छौँ। हामी निर्वाचित भएदेखि नै प्लास्टिकजन्य फूलमालाको बिक्री–वितरणमा रोक लगाएका थियौँ। यस तिहारमा पनि काठमाडौँ महानगरपालिकाले कार्तिक १ गतेदेखि ३२ स्थानमा स्वदेशी फूलमाला बिक्री–वितरणका लागि स्थल व्यवस्था गरेको छ। हाम्रो उद्देश्य आयातित र प्लास्टिकजन्य फूलमालालाई पूर्ण रूपमा निषेध गर्दै नेपाली किसानले उत्पादन गरेका फूलहरूलाई प्रोत्साहन र प्राथमिकता दिनु हो।
अघिल्ला वर्षहरूमा जस्तै यस वर्ष पनि किसानलाई बजारमा सहज पहुँच प्रदान गर्न, ढुवानीमा सहयोग गर्न र अवैध माला बिक्री गर्नेहरूमाथि कारबाही गर्न तयारी गरिएको छ। नेपाल चेम्बर अफ कमर्स र फ्लोरिकल्चर एसोसिएसन नेपालसँगको सहकार्यमा कोल्ड स्टोर र बजार क्षेत्रको अनुगमन पनि गरिनेछ। “हाम्रो चाहना वास्तविक किसानले आफ्नो उत्पादनको उचित मूल्य प्राप्त गरून् र उपभोक्ताले स्वदेशी फूलमै गर्व महसुस गरून्,” प्रमुख शाहले बताउनुभयो।
नेपाल अहिले सयपत्री र मखमली फूलमा लगभग आत्मनिर्भर भइसकेको छ। त्यसैले, यस तिहारमा स्वदेशी फूलको प्रयोग गर्न उहाँले आह्वान गर्नुभयो। “आफ्नो संस्कृति, नेपालमै फुलेका फूल हाम्रो पहिचान हो, यही हाम्रो सम्मान हो,” उहाँको भनाइ छ।
तपाइँको प्रतिक्रिया ।
