उपत्यकाव्यापी विद्यालय स्तरीय लघुकथा प्रतियोगितामा बाल विकास बोर्डिङ हाई स्कुल द्वितीय
कपन अनलाइन
काठमाडौं, भाद्र १४ ।
हाम्रो लघुकथा केन्द्र ,नेपालद्वारा आयोजित उपत्यकाव्यापी विद्यालय स्तरीय लघुकथा प्रतियोगितामा बूढानीलकण्ठ स्थित बाल विकास बोर्डिङ हाई स्कुलको कक्षा ७ मा अध्ययनरत शुभन भण्डारीले द्वितीय स्थान हासिल गरेका छन् । त्यसैगरी सोही विद्यालयका सुप्रिया मैनाली र अञ्जना गिरी पनि उत्कृष्ट दसमा पर्न सफल भएका थिए । हाम्रो लघुकथा केन्द्र नेपालका कार्यवाहक अध्यक्ष शेखर कुमार श्रेष्ठका अध्यक्षतामा ललितपुर माध्यमिक विद्यालयको सभाहलमा आयोजना भएको सो कार्यक्रममा लघुकथा लेखनका सिद्धहस्त लघुकथाकारहरूको उपस्थिति रहेको थियो । प्रमुख अतिथिको रूपमा श्रीओम श्रेष्ठ ‘रोदन’ले उपस्थिति जनाउनुभएको सो कार्यक्रममा उपस्थित दर्शकहरूले सभाहल खचाखच भरिएको थियो ।
विद्यालय स्तरमा अध्ययनरत विद्यार्थीहरूलाई लघुकथा लेखनतर्फ आकर्षित गराउने र लघुकथा लेखनलाई नयाँ पिँढीमा हस्तान्तरण गर्ने ध्येयले आयोजना गरिएको उक्त कार्यक्रममा वरिष्ठ लघुकथाकार तारा के. सी ,रामकुमार पण्डित र नवराज रिजालले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । उक्त कार्यक्रममा प्रथम स्थान समीपजङ के. सी र तृतीय स्थान दुर्गा परियारले हासिल गरेका थिए भने सान्त्वना पुरस्कार ट्रीनिटि इन्टरनेसनल कलेजको कक्षा ११ मा अध्ययनरत स्नेहा अधिकारीले प्राप्त गरेकी थिइन् ।
कार्यक्रममा उपस्थित प्रतियोगीहरूका लघुकथा वाचन अत्यन्तै श्रुतिमधुर थियो । कार्यक्रममा प्रथम ,द्वितीय ,तृतीय र सान्त्वना पुरस्कार प्राप्त गर्नेहरूले क्रमशः
रू ७०००,५०००,३००० र रू २००० नगद पुरस्कार प्राप्त गरेका थिए । प्रतियोगी विद्यार्थीहरूलाई लघुकथासम्बन्धी पुस्तकहरू प्रदान गरिनुको साथै विद्यालयलाई पनि सम्मानपत्र हस्तान्तरण गरिएको थियो ।
