साम्तेन मेमोरियल एजुकेसनल एकेडेमीमा ‘अभिभावक अभिमुखीकरण’ कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाडौं , भाद्र ४ /डोमा शेर्पा
बुढानिलकण्ठ नगरपालिका वडा नं. ११ मा रहेको साम्तेन मेमोरियल एजुकेसनल एकेडेमीले कम्प्लिट प्रिस्कूल सिस्टम (सि.पि.एस.) अन्तर्गत नर्सरी, एलकेजी र युकेजीका विद्यार्थीका अभिभावकहरूको लागि ‘अभिभावक अभिमुखीकरण’ कार्यक्रम आयोजना गरेको छ।
भदौ ३ गते, मंगलबार विद्यालयको सभाहलमा सञ्चालित उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा लावण्य इन्टरनेशनलका निर्देशक मनोज कुमार पण्डित, प्रशिक्षक ममता गुरुङ, विद्यालयका संस्थापक अध्यक्ष निम्तो शेर्पा, संस्थापक सदस्य निमा शेर्पा, प्रधानाध्यापक गोविन्द बहादुर धामी, सह -प्रधानाध्यापक दिनेश भुजेल लगायत १५० भन्दा बढी अभिभावक तथा शिक्षकशिक्षिकाहरूको उपस्थिती रहेको थियो। कार्यक्रमको सञ्चालन विद्यालयकी शिक्षिका सावित्री अधिकारीले गरेकी थिइन् ।
प्रधानाध्यापक गोविन्द बहादुर धामीको औपचारिक स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रममा नर्सरी, एलकेजी र युकेजीका साना विद्यार्थीहरूले आ-आफ्ना बाबुआमाका लागि मनमोहक नृत्य तथा नाटकीय प्रस्तुति पनि दिएका थिए ।
सो कार्यक्रमको मुख्य उद्देश्य सि.पि.एस. पाठ्यक्रम प्रणाली, विद्यालयको शिक्षणशैली र अभिभावकको भूमिकासम्बन्धी जानकारी दिई अभिभावकलाई विद्यालयसँग जोड्नु रहेको विद्यालय प्रशासनले जनाएको छ।
अन्त्यमा, विद्यालयका संस्थापक अध्यक्ष निम्तो शेर्पाले धन्यवाद ज्ञापन तथा छोटो मन्तव्य राख्दै कार्यक्रमको समापन गरेका थिए ।
(डोमा शेर्पा साम्तेन मेमोरियल एजुकेसनल एकेडेमीमा अध्ययनरत कपन अनलाइनकी प्रशिक्षार्थी पत्रकार हुन् )
