अदिती बुढाथोकी काठमाडौं स्पाइकर्सको गुडविल एम्बासडर
कपन अनलाइन
काठमाडौँ, साउन ३०।
वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभीएल) को फ्रेन्चाइज टोली काठमाडौं स्पाइकर्सले मुम्बई बेस्ड चर्चित नेपाली मोडल, नायिका तथा इन्फ्लुएन्सर अदिती बुढाथोकीलाई गुडविल एम्बासडर नियुक्त गरेको छ ।
काठमाडौं स्पाइकर्सले बिहीबार अदितीलाई गुडबिल एम्बासडर नियुक्त गरेको घोषणा गरेको हो । सानै देखि खेलकुदमा रुची राख्ने अदितीको बास्केटबल, टेबलटेनिस र स्विमिङ जस्ता खेलमा धेरै रुची छ ।
नेपालको राष्ट्रिय खेल भलिबल, त्यसमा पनि महिला लिगको फ्रेन्चाइज टिममा गुडविल एम्बासडरको रुपमा जोडिन पाउँदा एकदमै खुशी लागेको अदितीले बताइन् । ‘एभरेष्ट महिला भलिबल लिग (इडब्लुभीएल) नेपाली महिला भलिबलका लागि ऐतिहासिक प्रतियोगिता हो । यसमा पनि राजधानीको प्रतिनिधित्व गर्ने टिम काठमाडौं स्पाइकर्समा जोडिन पाउँदा म एकदमै खुशी छु ।’ अदितीले भनिन् ।
’जीवनमा केही कुरा यस्ता हुन्छन् जसको अनुभूति तपाईंको मनको गहिराइमा हुन्छ । ईडब्लुभी लिगको दोस्रो संस्करणमा काठमाडौं स्पाइकरको गुडविल एम्बासडर हुनु मेरो लागि त्यस्तै कुरा हो ।,’ अदितीले भनिन्,
‘हरेकपटक जब म यी एथलीटहरूलाई कोर्टमा प्रवेश गर्न देख्छु, म गर्वको एक अद्भुत लहर महसुस गर्छु । उनीहरूले खेल खेल्दा नयाँ पुस्ताका बालिकाहरूलाई बलियो हुनु, निडर हुनु र आफ्नो सपनालाई सम्पूर्ण समर्पणका साथ पछ्याउनु भन्ने कुरा देखाइरहेका हुन्छन् ।’ लिगको वास्तविक उद्देश्य यही भएको उनले बताईन् ।
अदितीले भर्खरै केही समयअघि लण्डनमा भएको वल्र्ड च्याम्पियन लेजेण्ड लिग (डब्लुसिएल) मा डिजिटल प्रिजेन्टरको भूमिकामा काम समेत गरेकी थिइन् । जहाँ उनले विश्वकै दिग्गज क्रिकेटहरुसँग अन्तर्वार्ता गर्ने र सामाजिक सञ्जालका लागि कन्टेन्टहरु उत्पादन गर्ने काम गरेकी थिइन् ।
अदितीले एभरेष्ट महिला भलिबल लिग नेपाली महिला भलिबल खेलाडीको विकास र नेपाली भलिबल विकासकै लागि कोशेढुंगा हुने बताइन् ।
भारतको चलचित्र नगरीको रुपमा परिचित मुम्बईमा बसेर आफ्नो काम अघि बढाइरहेकी अदितीले नेपालमा आएर चलचित्र समेत खेलेकी थिइन् । उनले सन् २०१८ मा कृ र २०२३ मा बाबरी फिल्ममा अभिनय गरेकी थिइन् । यस्तै उनको अभिनय रहेको देवयोल अम्याजन प्राइम सिरिज लन्च हुने क्रममा छ ।
यस बाहेक अदितीले विभिन्न म्युजिक भिडियो देखि एडहरुमा समेत काम गरिसकेकी हुन् । उनले भारतीय म्युजिक भिडियोहरु ‘तु मेरा नही’, ‘इमान तु’, ‘माहिया तुयादा कर’, ‘इन्नी सी गल’, ‘परन्दा’, ‘हावा बन्के’ लगायतमा अभिनय गरेकी छन् ।
नेपाली राष्ट्रिय महिला भलिबल टिमकी मुख्य स्पाइकर उषा भण्डारी मार्की प्लेअर रहेको काठमाडौं स्पाइकर्समा मनिषा चौधरी, यमुना रसाइँली, रिमा कुँवर, बाल्मिका आचार्य, कमला पुन, आशिका क्षेत्री, भुवनेश्वरी चन्द छन् ।
यस्तै काठमाडौं दुई विदेशी खेलाडी बुल्गेरियन सेटर कोभा निकोलाएभा र काजकिस्तानकी अपोजिट हिटर अलेना कोलोतीजिनालाई अनुबन्ध गरिसकेको छ । दोस्रो संस्करणका लागि काठमाडौंले लोक बहादुर बुढालाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।
पहिलो संस्करणको लिगमा तेस्रो भएको काठमाडौं स्पाइकर्सले दोस्रो सिजन अझ बलियो भएर आउने र कोर्टमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।
ईन्फिनिटी ड्रिम्सको आयोजनामा वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभि) को दोस्रो संस्करण आगामी भदौ २० देखि २८ गतेसम्म (सेप्टेम्बर ५–१३) हुनेछ ।
