१४ विद्यालय छात्रवृत्ति बुद्धिचाल प्रतियोगिता शुरु

१४ विद्यालय छात्रवृत्ति बुद्धिचाल प्रतियोगिता शुरु

कपन अनलाइन

काठमाडौं,असार ७ ।

हेटौंडा चेस क्लबद्वारा आयोजना गरिएको सेमी क्लासिकल विद्यालय छात्रवृत्ति बुद्धिचाल प्रतियोगिता शुक्रबार हेटौडामा शुरु भएको छ।
हेटौडा स्थित विभिन्न विद्यालयहरूका ६६ जना खेलाडीहरुले सहभागिता जनाइरहेको छात्रवृत्ति बुद्धिचाल प्रतियोगितामा पहिलो दिन ४ चरणका खेल सम्पन्न भएका छन्।
सेमी क्लासिकल विधा अन्तर्गत ३० मिनेट ३० सेकेन्ड इनक्रिजमेन्ट समय निर्धारित प्रतिस्पर्धामा ज्ञानदीप शिक्षा निकेतनका विषम कोइराला र नवोदय शिशु सदन का नाइस लामाले समान ४ – ४ अङ्क हासिल गर्दै संयुक्त रुपमा अगाडि रहन सफल भएका छन् ।
स्पर्धामा नवोदयका सरल मैनाली, बाल जागृति सेकेन्डरी स्कुलका केविन गर्ग, ज्ञानदीप शिक्षा निकेतनका आङटेन मोक्ताङ र उचित जोशीले समान ३ दशमलव ५ अङ्क जोडेर संयुक्त दोस्रो स्थानमा रहन सफल भएका छन्।
यस्तै सिद्धार्थ शिशु सदनका कृतार्थ धोडारी, नवोदयका आरोण गहतराज, श्री आधुनिक राष्ट्रिय सेकेन्डरी स्कुलका प्रिन्स जयसवाल, बाल जागृतिका कुशल कार्की, ज्ञानदीपका स्वप्निल मानन्धर, श्री भुटनदेवी सेकेन्डरी स्कुलका प्रवेश अधिकारी सहित जम्मा १३ जना विद्यार्थीहरू समान ३ – ३ अङ्क जोडेर संयुक्त तेस्रो स्थानमा रहेका छन्।
प्रतियोगितापूर्व नेपाल बुद्धिचाल महासङ्घका महासचिव एवं हेटौंडा चेस क्लबका अध्यक्ष धरम बहादुर लामाको सभापतित्वमा उद्घाटन समारोह सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्रालय बागमती प्रदेश महाशाखाका प्रमुख श्री सूर्यबहादुर दाहालले बुद्धिचाल खेल मार्फत विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने नवीनतम सोचको खुलेर प्रशंसा गरेका छन्।
उक्त समारोहमा अतिथिका रूपमा युवा तथा खेलकुद मन्त्रालयका अधिकृत हमबहादुर बिक, मकवानपुर बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सभापति प्रसिद्ध रेग्मी, हेटौंडाका विभिन्न विद्यालय प्रमुखहरु, बुद्धिचाल सङ्घका पदाधिकारी, खेलकर्मी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

तपाइँको प्रतिक्रिया ।