सडक र सवारी लक्षित मनसुनजन्य बिपद् न्यूनिकरण अभियान-२०८२ शुभारम्भ ।
कपन अनलाइन
काठमाण्डौ ,असार ६ ।
काठमाण्डौको गोङ्गबु स्थित नयाँबसपार्कमा आयोजित उक्त समारोहमा प्रमुख अतिथि काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष बिजय बहादुर स्वाँर, नेपाल यातायात स्वतन्त्र मजदुर संघका अध्यक्ष भीमज्वाला राई, नेपाल प्रहरीका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक डा. गोबिन्द थापा र यातायात व्यवसायीले मनसुनजन्य बिपद्बाट सजग हुनुपर्ने विषयमा आ-आफ्नो मत राखेका छन ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले मनसुन सम्बन्धी सूचना र सडकको अवस्थाबारे जानकारी लिएर यात्रा गर्दा थप सुरक्षित हुने कुरामा जोड दिएका थिए ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष स्वाँरले ‘यसवर्ष वर्षा भारी मात्रामा हुने संभावना रहेकाले वर्षातको समयमा मनसुन सम्बन्धी समाचार र तथ्यगत सूचना लिएर मात्र यात्रा गर्न अनुरोध गरेका छन ।
काठमाडौँ उपत्यकाबाट छुट्ने लामो तथा मध्यम दुरीका सवारी साधनले नयाँबसपार्क, कलंकी, नागढुङ्गा, बल्खु, फर्पिङ, कोटेश्वर, भक्तपुर, चापागाउँ, साँखु, टोखा, तिनपिप्ले र भिमढुंगा गरी १२ वटा स्थानमा स्थापना गरिएका नागरिक सहायता कक्षबाट मनसुन जन्य प्राकृतिक प्रकोप (बाढि/पहिरो) साथै सडकको अवस्था बारे जानकारी दिने तथा सवारी चालक, परिचालक साथै यात्रुले पनि अपनाउनु पर्ने तयारी र सावधानीका विषयमा नागरिक सहायता कक्षमा कार्यरत ट्राफिक प्रहरीले जानकारी दिने उदेश्यका साथ आजै काठमाडौँको नयाँबसपार्क सहित उपत्यकामा माथि उल्लेखित १२ स्थानमा नागरिक सहायता कक्षको स्थापना गरि समुद्घाटन गरिएको छ ।
कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावलाई स्वागत गर्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले बाढी पहिरोका कारण सडक अवरुद्ध भइ अप्रिय घटना घट्नुका साथै जन धनको क्षति समेत हुन सक्ने भएकाले प्राकृतिक प्रकोपबाट हुने जोखिम न्यूनिकरणका लागि नागरिक सहायता कक्षको स्थापना गरिएको बताए ।
कार्यक्रममा नेपाल प्रहरीका कर्मचारी, यातायात व्यवसायी, नागरिक समाज, सञ्चारकर्मी र सर्बसाधरण लगायत ५ सय जनाको उपस्थिति रहेको थियो ।
