शारीरिक सुगठन प्रतियोगितामा ग्रेस ओभरअल च्याम्पियन

शारीरिक सुगठन प्रतियोगितामा ग्रेस ओभरअल च्याम्पियन

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २५।

नेपाल व्यायाम मन्दिरका ग्रेस महर्जन प्रथम प्रज्ञा स्मृति पुरुष तथा महिला शारीरिक सुगठन प्रतियोगितामा शनिबार ओभरअल च्याम्पियन बनेका छन् । ग्रेसले २ लाख ५० हजार नगद पुरस्कार प्राप्त गरे ।
नेपाल पुलिस क्लबमा भएको प्रतियोगितामा ग्रेस पुरुष ७५ केजीमाथि पहिलो हुँदा ओभरअल उपाधि होडमा प्रवेश गरेका थिए । आफ्नो तौलसमूहमा पहिलो भएवापत ग्रेसले छुट्टै ५० हजार नगद पुरस्कार हात पारे ।
प्रज्ञा स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको पुरुष ६० केजीमा ह्यामर फिट्नेसका सुमित गिरी, ६५ केजीमा बी एन्ड एल फिट्नेस स्टेसनका किशोर लिम्बू, ७० केजीमा बडी गराजका अभिजित राजवंशी र ७५ केजीमा व्यायाम मन्दिरका सुरेश मुनिकार पहिलो भए । पुरुषमा पहिलो हुनेले ५० हजार, दोश्रोले ४० हजार, तेश्रोले ३० हजार, चौथोले २० हजार र पाँचौंले १० हजार नगद पुरस्कार हात पारे ।
महिला खुलामा डिभाइनकी उर्मिला श्रेष्ठले उपाधि जितिन् । महिलामा शीर्ष पाँच स्थानमा रहनेले क्रमशः १ लाख, ५० हजार, ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार पाए ।
विजेतालाई पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, आयोजक प्रतिष्ठानकी निर्देशक गंगा दाहाललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

तपाइँको प्रतिक्रिया ।