भक्ति इन्टरनेसनल एकेडेमीले विश्व वातावरण दिवस विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनायो
भक्ति इन्टरनेसनल एकेडेमीले विश्व वातावरण दिवस २०८२ विभिन्न जनचेतनामूलक कार्यक्रमहरूमार्फत भव्य रूपमा मनाएको छ। “प्लास्टिक प्रदूषणको अन्त्य, हरित भविष्यको सुरुवात” भन्ने नाराका साथ आयोजित कार्यक्रमले वातावरण संरक्षणप्रतिको जागरुकता अभिवृद्धिमा योगदान पुर्याएको छ।
कार्यक्रमको प्रारम्भमा विद्यालय परिसरमै सरसफाइ गरिएको थियो, जसमा विद्यार्थी तथा शिक्षक शिक्षिकाहरूकाे सहभागिता जनाए। त्यसपछि वातावरण संरक्षण सम्बन्धी विभिन्न सन्देशमुलक चित्रकला प्रतियोगिता, र पोस्टर प्रदर्शन गरियो। विद्यालयका प्रिन्सिपल नबराज भट्टका अनुसार, “बालबालिकालाई सानैदेखि वातावरणप्रति उत्तरदायी बनाउने उद्देश्यले यस्ता कार्यक्रम आयोजना गरिएको हो।”
उनले वातावरणमैत्री जीवनशैली अपनाउन सबैलाई आग्रह पनि गरे। कार्यक्रममा विद्यार्थीहरूले प्लास्टिक प्रयोग घटाउने उपायहरूबारे आफ्नो धारणा प्रस्तुत गरे र वातावरण संरक्षणमा आफ्नो भूमिकाबारे प्रतिज्ञा समेत गरेका थिए ।
यस अवसरमा शिक्षिका एरिना महतले वातावरणीय शिक्षा र कार्यान्वयनबारे छोटो वक्तव्य प्रस्तुत गर्नुभएकाे थियो। कार्यक्रममा सहभागीहरूले विद्यालयको यो पहलको सराहना गरेका थिए। भक्ति इन्टरनेसनल एकेडेमीले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
