जनकपुरधाममा पाँच दलले घोषणा गरे ‘संघीय गणतान्त्रिक गठबन्धन’

जनकपुरधाममा पाँच दलले घोषणा गरे ‘संघीय गणतान्त्रिक गठबन्धन’

कपन अनलाइन

काठमाडौं ,जेष्ठ १६।

गणतन्त्र दिवसकै दिन पाँच राजनीतिक दलले ‘संघीय गणतान्त्रिक गठबन्धन’ घोषणा गरेका छन् । बिहीबार जनकपुरधाममा एक समारोहको आयोजना गरी यी दलले गठबन्धन घोषणा गरेका हुन् ।
गठबन्धनमा पूर्वगृह राज्यमन्त्री मो.रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टी, रामकुमार महतो नेतृत्वको नेपाल सद्भावना पार्टी, बद्री ठाकुर नेतृत्वको इतिहासिक जनता पार्टी, हरिनन्दनकुमार रञ्जन नेतृत्वको बहुजन एकता पार्टी र धुपलालप्रसाद सहनी (निषाद) नेतृत्वको नेपाल जनजागृति पार्टी छन् ।
घोषणा समारोहमा पूर्वगृह राज्यमन्त्रीसमेत रहेका नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष अन्सारीले मुलुकमा फेरि पनि एकल शासकको अभिलाषा राख्नेहरू सल्बलाएको भन्दै उनीहरूका इच्छा कुनै हालतमा पूरा नहुने बताएका छन् । पछिल्लो समय राजावादीका नाममा प्रतिगामी शक्तिहरू देखिन थालेको भन्दै उनले जनताले प्राप्त गरेका उपलब्धि रक्षाका लागि कुनै हदसम्म जान सक्ने पनि चेतावनी दिए ।
अध्यक्ष अन्सारीले  मधेशका कथित नेताहरूले जहिले पनि मधेशीलाई ठग्ने र धोका दिने काम मात्र गरेकोसमेत आरोप लगाए । यी नेताहरू शहीदहरूको बलिदानीलाई सत्तासँग साट्ने काम गर्दै आएको उनको आरोप छ । अन्सारीले कथित मधेशी नेताहरू सत्ता समर्पण र मुद्दा विसर्जनको पथमा गएकोसमेत टिप्पणी गरे ।
यसैगरी, समारोहमा नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतोले गणतन्त्र आएको लामो समय बित्दासमेत शोषित पीडित समुदायले वास्तविक गणतन्त्र महसुस गर्न नसकेकाले गणतन्त्र दिवसकै दिन पारेर गठबन्धन घोषणा गरेको बताए ।
यो गठबन्धन इमान्दार नेताहरूको रहेको पनि उनले दाबी गरे । ठूला मधेशी दलहरूले मधेशी जनतालाई धोका दिँदै आएकाले आफूहरू उनीहरूको गठबन्धनमा नगएर छुट्टै गठबन्धन बनाएको उनको भनाइ छ ।
बहुजन एकता पार्टीका अध्यक्ष हरिनन्दनकुमार रञ्जनले यो जातिवादी र सामन्तवादी व्यवस्थाको अन्त्य गर्न गठबन्धन बनाउनुपरेको बताए । उनले दलित तथा उत्पीडितहरूमाथि हुने हत्या, हिंसा, बलात्कारलगायत अपराधविरुद्ध संघर्ष गर्न गठबन्धन बनाउने बताए ।
दलित तथा उत्पीडितमाथि हुने विभेदको श्र्रखला तोड्न नसकिए धर्तीमा जन्म लिनुको कुनै अर्थ नरहेको उनको भनाइ छ । मधेश सरकार गरिब तथा दलितको पीडालाई बेवास्ता गर्दै आएको पनि उनले आरोप लगाए । अहिले सरकारले अम्बेडर पार्क बनाउने नाममा दलितहरू तोड्ने काम गरेको पनि उनको आरोप छ ।
नेपाल संघीय समाजवादी पार्टीकी केन्द्रीय उपाध्यक्ष तथा मधेश प्रदेशकी सांसद् बिमला अन्सारीले विगतमा अरुका लागि लडे पनि अब आफ्नो लागि लड्नुपर्ने बताइन् । आन्दोलनमा शहादत दिएर ल्याइएको समावेसी समानुपातिकलगायतलाई कमजोर बनाउने काम भएको उनको जिकिर छ । ठूला दलहरूका कारण राजावादीहरू सल्बलाएको उनले बताइन् ।
नेपाल सद्भावना पार्टीकी वरिष्ठ नेतृ तथा पूर्वमन्त्री सरिता गिरीले देशमा भएका विभिन्न काण्डमा मुछिएका नेताहरूमाथि कारबाही नभएकाले जनताले गणतन्त्रको अनुभूति गर्न नपाएको बताइन् ।
काठमाडौँमा गणतन्त्रको विरुद्ध आन्दोलन हुनुको जिम्मेवारी ठूला तीन दलका अध्यक्ष देउवा, ओली र दाहालले लिनुपर्ने पनि बताएकी हुन् । अबको प्रधानमन्त्री संघीय गणतान्त्रिक गठबनधनबाट बन्ने पनि नेतृ गिरीले दाबी गरिन् । उत्पीडित समुदायका व्यक्ति पनि प्रधानमन्त्री किन बन्न नसकेको भनेर प्रश्न पनि गरिन् ।
इतिहासिक जनता पार्टीका अध्यक्ष बद्री ठाकुरले मधेशी समुदायको दुश्मन राजसंस्था रहेकाले भ्रमित नहुन सबैसँग आग्रह गरेका छन् । मधेशीहरूसँग गद्दार गरिरहेकाहरूविरुद्ध गठबन्धन उत्रिने चेतावनी दिए । शासकहरूले आफ्नो अनुकुलको संविधान बनाएको पनि उनले दाबी गरे ।
नेपाल जनजागृति पार्टीका धुपलालप्रसाद सहनी निषादले अधिकार प्राप्तिअघि मित्र र शत्रुलाई चिन्नुपने बताए । उनले दुस्मनहरूलाई भोट दिएर जिताएकै कारण उत्पीडितहरू अधिकार पाउनबाट वञ्चित भएको बताएका छन् ।
उत्पीडितहरू संगठित भएर अघि बढ्नु आवश्यक रहेको पनि उनले बताए । भ्रम, आश्वासन, लोभलालच र पैसाको भरमा ठूला पार्टीहरू सञ्चालन रहेको पनि बताएका छन् ।
तपाइँको प्रतिक्रिया ।