शिव प्रधानको नयाँ कृति दोस्रो उपन्यास “ प्रेमाश्रु “ बजारमा

शिव प्रधानको नयाँ कृति दोस्रो उपन्यास “ प्रेमाश्रु “ बजारमा

कपन अनलाइन
काठमाडौं, पुस ६।

उपन्यासकार शिव प्रधानको उपन्यास “प्रेमाश्रु” लोकार्पित भएको छ । शुक्रबार काठमाडौमा आयोजित एक कार्यक्रमा उक्त कृतिल वरिष्ठ कलाकार मदनदास श्रेष्ठ,उपन्यासकार,शिव प्रधान,सम्पादक विमल भौकाजी,वरिष्ठ साहित्यकार राधेश्याम लेकाली लगायतले लोकार्पण गरे । यसअघि लेखकले आफ्नो पहिलो उपन्यास “ रूदिना “ प्रकाशित गरेका थिए, जसले पाठकहरूबाट राम्रै चर्चा बटुल्न सफल भएको थियो। लेखकले यसपटक समाजमा रहँदै आएका सम्बन्धहरूमा देखिने शारीरिक मोह र त्यसले उत्पन्न गर्ने समस्याहरूलाई केन्द्रमा राखेर कथा बुनेका छन्।

साहित्यिक पत्रकार संघको आयोजनामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कलाकार मदनदास श्रेष्ठले पानसमा दीप प्रज्वल्लित गरी कार्यक्रमको शुभारम्भ गरेका थिए ।

प्रमुख अतिथि मदनदास श्रेष्ठले -“म साहित्यिक अनुरागी हुँ । स्रष्टाहरुले लेखेका कुराहरुलाई लिएर रंगमञ्चमा जीवन्त अभिनय गर्छु ।” भन्दै साहित्य समाजको निम्ति लेखिनुपर्नेमा जोड दिए । उनले साहित्य सृजना गरी प्रकाशनमा ल्याउनु कठीन कार्य भएको बताउँदै कृति प्रकाशनलाई महिलाको प्रसव पीडासँग तुलना गरे । कृतिका सम्पादक एवं शारदा पत्रिकाका सम्पादक वरिष्ठ साहित्यकार विमल भौकाजीले स्वागत मन्तव्य सहित उपन्यास सम्पादन गर्दाका अनुभूतिहरु व्यक्त गरे ।

वरिष्ठ समालोचक प्रा.डा.गोविन्दमानसिंह कार्कीले तत्कालिन माओवादी द्धन्दकालीन झल्को दिने उपन्यास भन्दै उतिवेलाको समाजको विद्रुप चित्र उपन्यासमा रहेको बताए । उनले दु: खी मानिसका कथाव्यथालाई जीवन्तता दिने गरि उपन्यासको कथानकता बुनिएको भन्दै प्रवासिन वाध्य नेपाली युवायुवतीको कथाव्यथा समेत कृतिमा आएको चर्चा गरे ।

प्रकाशकको तर्फबाट भुँडीपुराण प्रकाशनका अध्यक्ष केशव पराजुलीले पुस्तक प्रकाशन आफ्नो कर्म भएको बताउँदै कृतिकारलाई शुभकामना व्यक्त गरे ।कृतिकार शिब प्रधानले २ महिनाको अवधीमा नै कृति जन्मिएको भन्दै अघिल्ला कृतिहरु जस्तै पढेर सुझाव दिन अनुरोध गरे । र उपन्यासको रचनागर्भको बारेमा आफना कुरा राखे ।

अध्यक्षको आसनबाट साहित्यिक पत्रकार संघका अध्यक्ष वरिष्ठ साहित्यकार राधेश्याम लेकालीले स्रष्टालाई नयाँ कृतिको निम्ति बधाई दिंदै डायस्पोरामा बसेर नेपाली साहित्यमा योगदान गर्ने शिब प्रधानको साहित्यिक योगदानको प्रशंसा गर्दै आगामी दिनमा थप कृति आउने अपेक्षा राखे ।

उनले साहित्यिक पत्रकार संघले गर्दै आएको कविता यात्रा,कथा दिवस,देश दर्शन,साहित्यिक पिकनिकको थालनी आफुहरुले गरेको बताउँदै साहित्यिक पत्रकार संघको वारेमा जानकारी दिए ।

साहित्यकार प्रदीप सापकोटाको सञ्चालनमा भएको उक्त कार्यक्रममा उपन्यासकार र उहाँकी धर्मपत्नि दुर्गा लिम्बु प्रधान दम्पतिलाई टोपी,माला ,खादा तथा मायाको चिनोद्धारा सम्मान गरिएको थियो भने प्रमुख अतिथि र अतिथिहरुलाई आयोजकको तर्फबाट अध्यक्ष लेकालीले मायाको चिनो प्रदान गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि लगायत अतिथिहरुलाई रुद्राक्षको माला दुर्गा जिसीले वितरण गर्नुभएको थियो । यस पुस्तकले पाठकहरूबीच उत्सुकता जगाउने आशा राखेको छ, र यसलाई नेपाली साहित्यमा एउटा ताज थप मानिएको छ।

तपाइँको प्रतिक्रिया ।