काठमाडौं महानगरपालिका वडा ७ को आयोजनामा हुने भेट्रान फुटबलको तयारी पूरा
काठमाडौं महानगरपालिका वडा ७ को आयोजनामा चौथो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
चावहिल स्पोर्ट्स क्लबको प्राविधिक सहयोगमा हुने नकआउट प्रतियोगिताका खेलहरु चन्द्रविनायक पार्क, चावहिल मैदानमा हुनेछ । पहिलो दिन ४ खेल हुनेछ । फ्रिडम फाइटर ‘ए’ र वाइ वाइ युनाइट, फ्रिडम फाइटर ‘बी’ र सरस्वतीनगर, बूढानीलकण्ठ र कपन तथा बौद्ध भेट्रान र डिल्लीबजारबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा मोफसलका ३ सहित २१ टिमको सहभागिता रहेको चावहिल स्पोर्ट्स क्लबका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक राजेश श्रेष्ठले जनाएका छन् । मोफसलबाट हेटौंडा, चितवन र बीबीसी, बनेपा सहभागी हुने छन् ।
विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर र फरवार्डलाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ ।
प्रतियोगिता सञ्चालन गर्न करिब ४ लाख ९० हजार रुपैयाँ खर्च हुने आयोजक वडा ७ का अध्यक्ष विमलकुमार होडाले जानकारी गराए । विगतका तीनै संस्करणको उपाधि फ्रिडम फाइटर, ढोलाहिटीले जितेको थियो । फाइनल पुस ६ गते हुनेछ ।