‘अग्निदहन’ प्रिमियर सम्पन्न
भोलि शुक्रबारबाट रिलिज हुने फिल्म ‘अग्निदहन’ले बुधबार साँझ राजधानीमा प्रिमियर गरेको छ । प्रिमियरमा फिल्म हेरेपछि अधिकांश फिल्मकर्मीले कथावस्तु मनपरेको प्रतिक्रिया दिए ।
निर्देशक नारायण रायमाझीले गाउँमा अझै पनि बोक्सी प्रथा कायमै रहेकाले यस्ता चलचित्र अझै धेरै बन्नु पर्ने बताए ।
राजनीतिकर्मी शंकर तिवारीले अधिकांश फिल्ममा समस्या मात्र देखाइने तर समाधान नदेखाइने प्रचलन भइरहेको समयमा ‘अग्निदहन’मा भने गहिराईमा पुगेर समस्या र समाधान दुवै देखाइएको बताए ।
कलाकार वीरेन श्रेष्ठले मान्छेको सोचले उसलाई कुन हदसम्म पु¥याउँछ भन्ने कुरालाई फिल्मले देखाएको बताए । उनले पुरानो कथालाई सटिक ढंगले प्रस्तुत गरिएको भन्दै तारिफ गरे ।
निर्देशक तथा कलाकार नरेश पौडेलले फिल्मले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार गरेको बताए । उनले यसलाई घिनलाग्दो कुरुतीलाई विद्रोही प्रहारको संज्ञा दिए ।
कलाकार लोकेन्द लेखकले ‘अग्निदहन’ सामाजिक विकृति विसंगति र खासगरी बोक्सी प्रथा विरुद्ध उठाइएको एउटा सशक्त आवाज रहेको बताए ।
माता सविता आचार्यले फिल्म हेर्दा आफूलाई आँशु आउन खोजेको र डर लागेको बताइन् । उनले वास्तविक पुरै मिलेको भन्दै तारिफ गरिन् ।
कलाकार तेज गिरीले अर्काको लाशमाथि टेकेर पाएको जीवनले मनमा र अर्काको लाशमाथि टेकेर पाएको राजनीतिले जीवनमा कहिल्यै शान्ति मिल्दैन भन्दै तारिफ गरे ।
यो फिल्मका परिकल्पनाकार तथा प्रस्तुतकर्ता कोविदशरण उपाध्यायले चाँडै नै तराईका भारतसँग सीमाना जोडिएका जिल्लामा पनि फिल्म प्रदर्शन गर्ने जानकारी दिए । ‘हामी जहाँ जहाँ पुग्यौं सबैले बोक्सी अन्धविश्वास रहेछ भन्नुभयो’, उनले भने ।
उपाध्यायले आफूहरुले बोक्सी प्रथाविरुद्ध विभिन्न किसिमका काम गरेको बताउँदै फिल्ममार्फत जनतालाई जागरुक गराउन प्रभावकारी हुने भएकाले फिल्म निर्माण गरेको बताए । ‘हामीले ‘मान्छे बोक्सी हुन्न कहिल्यै’ पुस्तक, ‘अग्निदहन’ उपन्यास र राष्ट्रियस्तरका ख्यातीप्राप्त गायकगायिका अञ्जु पन्त, सत्यराज आचार्य, स्वरुपराज आचार्य, प्रमोद खरेलका स्वरमा सामाजिक भिडियोहरु बनाएर जागरण चलायौं । अनि केही गहिरिएर जाउँ न त भनेर निर्देशक घनश्याम लामिछानेसँग सल्लाह गरेर यो फिल्म बनाएका हौं’, उनले भने ।
उनले ‘बोक्सी’का नाममा महिलामाथि कुटपिट गर्ने, मलमुत्र खुवाउने, जिउँदै जलाउने, गाउँ निकाला गर्ने जस्ता जघन्य अपराध र कुप्रथा भएको ठाउँमा यसविरुद्ध सचेतना जगाउन फिल्म प्रभावकारी बनेको दाबी गरे ।
घनश्याम लामिछाने निर्देशित फिल्ममा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु बास्तोला, तारा बहादुर गुरुङको अभिनय छ ।
फिल्ममा लोकमणि पौडेलको कथा, पटकथा तथा संवाद, कोविदशरण उपाध्यायको परिकल्पना, परिच्छेद सेनको सहायक निर्देशन, दीर्घ गुरुङको छायांकन, दीर्घ खड्काको सम्पादन, शंकर पाण्डेको प्रोडक्सन डिजाइन छ ।
नेपालको निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले समेत हेरिसकेको यो फिल्मलाई चलचित्र विकास बोर्डले ‘विशेष चलचित्र अवार्ड’ समेत दिइसकेको छ ।