नेकपा माओवादी केन्द्र बाढीपहिरो पीडितको उद्धार, राहत र पुनस्थापनामा जुट्ने

नेकपा माओवादी केन्द्र बाढीपहिरो पीडितको उद्धार, राहत र पुनस्थापनामा जुट्ने

कपन अनलाइन
काठमाडौं, असोज १४।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले बाढीपहिरो पीडितको उद्दार राहत र पुनस्थापनाका लागि योजननावद्ध रूपमा काम गर्ने भएको छ। आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादी केन्द्रको प्रचार तथा प्रकाशन बिभाग र विपद व्यवस्थापन विभागको संयुक्त बैठकले विपदका समयमा सूचना संकलन र सम्प्रेषण तथा बिपदपछिको राहत र पुनस्थापनाका बिषयमा एकिकृत योजना लागु गर्ने निर्णय गरेको हो । गत शुक्रबारदेखि दुई दिनसम्म परेको अविरल वर्षाका कारण काठमाडौँ उपत्यका लगायत देशका विभिन्न स्थानमा भएको जनधनको क्षति तथा त्यसपछिको राहत र पुनःस्थापनाको कार्यका लागि  पार्टीका जनसंगठन, मोर्चा, स्थानीय तथा प्रदेश समिति सम्ममा जनशक्ति परिचालन गर्ने निर्णय गरेको छ । यस्तै बैठकले पार्टी भित्रका सबै जनसंगठन मोर्चाहरुलाई उद्धार राहत र पुनःस्थापनाका कार्यक्रमका लागि पार्टी केन्द्रीय कार्यालयमा सूचना डेक्स सञ्चालन गरेर त्यसमार्फत आधाकारिक सूचना प्रवाह गर्ने भएको छ । बैठकले प्रभावित क्षेत्रमा खाद्यान्न लत्ताकपडा लगायतका अत्यावश्यक सामाग्री सहित उद्धारमा खटिन समेत निर्देशन जारी गरेको छ ।

बैठकले सरकारले समयमै पहलकदमी लिन नसकेको कारण मनसुनजन्य विपदबारे जानकारी हुँदा हुँदै पनि उपत्यकाभित्रै उद्धारको अभावमा धेरै मान्छेको मृत्यु भएको निष्कर्ष निकालेको छ । बिपदप्रति सरकारको उदाशीनता र हेलचेक्र्याईका  कारण  उद्धार कार्यमा भएको ढिलासुस्ति तथा समन्वयको अभावले उपत्यकाभित्रै धेरै नागरिकहरुले ज्यान गुमाउनु परेको बैठकको निष्कर्ष  छ । सरकारी संयन्त्रहरूको उचित परिचालन गर्न नसक्दा र सरकार विहिनताको अभावले देशभरी विपदका कारण धेरै नागरिकहरुले ज्यान गुमाएको भन्दै सरकारलाई ध्यानाकर्षण गराउने निर्णय समेत बैठकले गरेको छ  ।

हालै राजधानी लगायत देशका विभिन्न भागमा परेको अविरल वर्षाका कारणले विभिन्न भागमा बाढी पहिरो र डुबानमा परी झण्डै २०० जना भन्दा बढी नागरिकहरूको निधन भएको छ भने अझै पनि दर्जनौ सङ्ख्यामा व्यक्तिहरु हराइरहेका छन् । यस्तै कयौं घाइते भएका छन् भने अधिकांश नदी किनारका घर बस्तिहरू खण्डहरमा परिणत भएको छ  । यस्तो अवस्थामा पीडित नागरिकहरूको उद्धारमा खटिन माओवादी केन्द्रले विशेष कार्यक्रम सञ्चालन गर्न लागेको हो । यस्तै माओवादी केन्द्रले बाढीपहिरो पीडितका लागि केन्द्रीय राहत कोष स्थापना गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को नाममा रहेको ग्लोवल आइएमई बैंक कोटेश्वर शाखामा रहेको ३६०१०१०००००४५ नम्बरको खातामा रकम जम्मा गर्न सकिने गरी केन्द्रीय राहत कोष स्थापना गरिएको छ । साथै पार्टीले जबस तथा मोर्चाहरू सहित पार्टी संगठनको समन्वयमा उद्धार तथा राहत कार्यमा खटिनको लागि पार्टीले विशेष परिपत्र समेत जारी गरिसकेको छ ।

तपाइँको प्रतिक्रिया ।