हिमाली : राजेश अधिकारी (कविता )

हिमाली : राजेश अधिकारी (कविता )

कपन अनलाइन
काठमाडौं, असोज १२।
हिउँको ताज पहिरी हाँस्छ अटल हिमाल
नेपाल भित्र लावण्य भर्ने प्रकृति कृपाल ।

धुपी र सल्ला मुनाल, डाँफे हिमाली गहना
बरफ बिच सौन्दर्य फुल्ने अद्भुत रचना ।

हिउँकै नदी हिउँलो ताल सेताम्मे चुचुरा
सर्दिलो वायु चट्टाने भूमि बर्फिला कन्दरा ।

झुल्किन्छ घाम मुसुक्क हाँसी हिमाल चुमेर
उषाले छरिन् रक्तिम लाली क्षितिज घुमेर ।

कुहिरो नाच्छ हिमाल माथि गगनै ढाकेर
डटेरै हानौं लक्ष्यको तीर चुचुरो ताकेर ।

चुम्छिन् जून गिरिको ओठ जुनेली रातमा
चम्किन्छ हिम बनेर चाँदी पर्वत माथमा ।

पर्वत पुत्री पार्वती खेल्छिन् हिमाल डुलेर
शिव नै रमे पार्वती भेट्दा कैलाशै भुलेर ।

विश्वको शिर सगरमाथा अनुप हिमाल
कदकी सानी आँखाकी नानी सुन्दरी नेपाल ।

यति र भालु, याक र चौंरी बासिन्दा हिमाली
हिउँमा श्रम फलाई बाँच्ने पौरखी नेपाली ।

चिनारी हाम्रो नगण्य हुन्थ्यो हिमाल नभए
स्वाधिन हामी हुन्थ्यौं र कहाँ ?नेपालै नरहे ।

उमंग छर्छ हिमाली चाड हर्षिलो ल्होसार
संस्कृति मरे मुलुक बन्छ निश्चेष्ट निस्सार ।

टुब्नाको ताल त्यो स्याब्रु नाच हिमाली रिवाज
पिवाङ,लावा बाजाका धुन शेर्पाली आवाज ।

दोचा र बख्खु लगाई रम्ने शेर्पाको सभ्यता
अतिथिलाई देवता ठान्ने हिमाली शिष्टता ।

हिमाली हावा, ओखती बुटी अमृत सागर
हिमाल श्रेष्ठ सगरमाथा चुम्दछ सगर ।

सर्वोच्च शैल पर्वत श्रेणी सम्पदा विश्वको
हिमका माला अतुल शान नेपाल देशको ।

चुचुरो टेकी आकाश छुने वीरको चाहना
आँटीकै पुग्छ शिखर चुम्ने सुनौलो सपना ।

सुसेली शान्ति सन्देश दिन्छ तेजस्वी हिमाल
हिमाल धारी सुन्दर सौम्य अखण्ड नेपाल ।

गिरीका श्रेणी अनार दाना लहर मिलेको
हिमाल रानी मुहार शुभ्र मणी झैं चम्केको ।

हिउँमै खेली हिमाल हेरी हुर्किएँ बढें म
नेपाली झण्डा काँधमा बोकी हिमाल चढें म ।

एकता गीत सुसेली गायो अजर हिमाल
हिमाल बोक्ने सौभाग्यशाली सुन्दर नेपाल ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।