प्रविधिमा आधारित ‘एकल सेवा केन्द्र’ बाट महानगरपालिकाको एकद्वार सेवा प्रवाह सुरु

प्रविधिमा आधारित ‘एकल सेवा केन्द्र’ बाट महानगरपालिकाको एकद्वार सेवा प्रवाह सुरु

काठमाडौँ महानगरपालिकाले आजदेखि केन्द्रीय कार्यालयको ब्लक ‘क’ (उत्तरतर्फको भवन) को भुइँ तलाबाट एकल सेवा केन्द्रबाट एकद्वार सेवा प्रवाह सुरु गरेको छ । महानगरपालिकाभित्र जुनसुकै सेवा लिन पनि यस केन्द्रमा आएर टोकन लिनु पर्ने, त्यसका आधारमा सेवा प्राप्त गर्ने विद्युतीय प्रक्रिया अगाडि बढ्ने भएकोले एकद्वार भनिएको हो ।

निजामती सेवा दिवसको अवसर पारेर शुभारम्भ गरिएको केन्द्रमा वडा नं. ५ बाट विपन्न नागरिक शिफारिस लिन आउनु भएका सुरेश प्रजापती र राजस्वका दररेट सम्बन्धी जानकारी लिन वडा नं. ३२ बाट आएका समिर नेपाललाई टोकन प्रदान गर्दै सेवा सुरु गरिएको थियो । उहाँहरुले टोकन प्राप्त गरेको ४५ मिनेटमा सेवा लिइसकेका थिए  । दिवसका अवसरमा पारेर आयोजना हुने कार्यक्रम परम्परागत ढाँचाका हुने अभ्यासलाई चिर्दै महानगरपालिकाले सेवा शुभारम्भ गरेको हो ।

त्यस अवसरमा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले सेवाग्राहीलाई टोकन लिने विधि सिकाउँदै सेवाका बारेमा जानकारी गराएका थिए  । यस्तै प्रवक्ता एवं सूचना प्रविधि समितिका संयोजक नविन मानन्धरले, केन्द्रका पहिलो सेवाग्राहीलाई पुष्पगुच्छा दिएर स्वागत गरेका थिए ।

‘एकल सेवा केन्द्र’ पहुँचयुक्त, पारदर्शी र उत्तरदायी सेवाको आधारभूत पूर्वाधार हो । शुभारम्भपछि अवलोकन गर्दै उपप्रमुख सुनिता डंगोलले भनिन , ‘समय सापेक्ष प्रविधियुक्त सेवा अहिले अपरिहार्य आवश्यकता हो । यससँगै महानगरपालिकामा सेवा लिन आउने ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति सबैलाई समान सेवा दिनु हाम्रो कर्तव्य हो । केन्द्र यसका लागि स्थापना भएको हो । केन्द्रलाई पहुँचयुक्त बनाउन सांकेतिक भाषा अनुवादक राख्नेसहितका योजना क्रमशः कार्यान्वयन गर्दै जानेछौँ ।’

‘केन्द्र इगभर्नेन्सको व्यवहारिक प्रयोग हो ।’ प्रमुख प्रशासकीय अधिकृत परियारले भने ,  नागरिकका घरदैलोमा उत्तरदायी सरकार भएको अनुभूति गराउने प्रयास हो ।’ सेवाग्राही सर्वेक्षणको प्रसङ्ग जोड्दै उनले भने , ‘गएको साउनमा सेवाग्राही सर्वेक्षण गरेका थियौँ । सर्वेक्षणमा सहभागी ५१७ मध्ये ६६ प्रतिशतले अनलाइन सेवाको अपेक्षा गरेका छन  । सर्वेक्षणमा सहभागीमध्ये धेरै स्नातक तह वा सोसरहको शैक्षिक उपाधि प्राप्त गर्नुभएका सेवाग्राही रहेका थिए  । उनिहरुले दिएको सुझावका आधारमा गएको वर्ष जारी गरिएको एकल सेवा केन्द्र सञ्चालन कार्यविधिका आधारमा सेवा थालेका हौँ ।’

तपाइँको प्रतिक्रिया ।