सुनसरी औराबनीका २० घरपरिवार भूमिहिनलाई भवन निर्माण गरी हस्तान्तरण

सुनसरी औराबनीका २० घरपरिवार भूमिहिनलाई भवन निर्माण गरी हस्तान्तरण

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ ६।

सुनसरीको गढी गाउँपालिका वडा नम्बर २ झोराटोल औराबनीस्थित विपन्न परिवारका २० घरपरिवारलाई नयाँ घर निर्माण गरी हस्तान्तरण गरिएको छ । महिलाबालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले उक्त बस्तीमा निर्माण भएको भवन परिवारलाई हस्तान्तरण गरेकी हुन्।

त्यहाँस्थित भूमिहीन दलित/आदिवासी जनजाति तथा अति विपन्न परिवारहरूका लागि सुरक्षित भूमि (भूमिहीन परिवारलाई भूमिको स्वामित्व हस्तान्तरण गर्ने गरी) र सुरक्षित आवास निर्माण गर्ने उद्देश्यले सुरक्षित आवास परियोजना अन्तर्गत गढी गाउँपालिका औराबनीह्याविट्याट फर ह्युम्यानिटी इन्टरनेशनल नेपाल र सङ्कल्प नेपालले संयुक्त रूपमा उक्त भवन निर्माण सम्पन्न गरेको हो ।

गढी गाउँपालिकाले उपलब्ध गराएको जग्गामा भवन निर्माण गरी विपन्न परिवारलाई हस्तान्तरण गरिएको हो । २०७९ पुस २० गते सम्झौता भएको उक्त परियोजना २०८० फागुन २५ गते सम्पन्न भएको हो । विपन्न परिवारलाई सुरक्षित आवास उपलब्ध गराउने उद्देश्य अन्तर्गत निर्माण गरिएका भवनमा २ वटा कोठाबरन्डाभान्सा घरशौचालय रहेका छन् ।

गढी गाउँपालिकाको ४९ लाख ५० हजार रुपैयाँह्याविट्याट फर ह्युम्यानिटी नेपालको ४० लाख दुई रुपैयाँसङ्कल्प नेपालको १८ लाख रुपैयाँ लागत तथा घरधनीको श्रमदान ६ लाख रुपैयाँ बराबर सहित १ करोड ७ लाख ५० हजार २ रुपैयाँ कुल लागतमा उक्त भवन निर्माण परियोजना सम्पन्न भएको हो ।

नवनिर्मित भवन विपन्न परिवारलाई हस्तान्तरण गर्दै महिलाबालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले स्वयं समुदाय सक्रिय नहुँदासम्म परियोजना सफल हुन नसक्ने बताएकी थिइन् ।

कुनैपनि योजना सफल हुन स्थानीय तहका नेतृत्वको भूमिका अझ बढी हुने भन्दै मन्त्री चौधरीले सबैको समन्वयमा भवन निर्माण परियोजना सम्पन्न गरी २० परिवारलाई भवन हस्तान्तरण गर्न सफल भएको बताइन  । ‘यो परियोजना सम्पन्न गर्न सबैको भूमिका उत्तिकै महत्त्वपूर्ण रहेको छ । यहाँका स्वयं समुदाय पनि सक्रिय हुँदा यो परियोजना सम्पन्न हुन सफल भयो’मन्त्री चौधरीले भनिन , ‘गढी गाउँपालिकाले जग्गा खोजेर सहयोग गर्नुभयो । नेतृत्वमा बसेको स्थानीय सरकारका अगुवा अगाडि नबढेमा समस्या उत्पन्न हुन्छ । त्यसकारण नेतृत्वमा बसेको स्थानीय नेतृत्व सक्रिय नहुँदासम्म योजना सम्पन्न गर्न अप्ठ्यारो हुन्छ ।’

आगामी दिनमा यस्ता योजनाहरू सफल पार्न स्थानीय नेतृत्व नै सक्रिय हुनुपर्ने मन्त्री चौधरीको भनाइ थियो । ‘अझै पनि थुप्रै भूमिहीनसुकुम्बासी समुदायहरू हुनुहुन्छ । उहाँहरूको व्यवस्थापनका निम्ति पनि हामी सबै एकजुट भएर काम गर्न आवश्यक छ’उनले  भनिन , ‘जोसुकैले गरेपनि सर्वोपरि फाइदा हुने कुरा छ भने । हाम्रो गाउँ ठाउँलाई राम्रो हुने विषय छ भने त्यो कुरामा हामी एकजुट हुन आवश्यक छ ।’

अझै पनि हजारौँ घर बनाएर विपन्न परिवारलाई व्यवस्थापन गर्ने लक्ष्य रहेको भन्दै मन्त्री चौधरीले संघीय सरकारले लामो समयदेखि यो कार्यक्रम सञ्चालन गर्दै आएको बताएकी छन ।

 

तपाइँको प्रतिक्रिया ।