उपहार: लता के.सी. (लघुकथा)

उपहार: लता के.सी. (लघुकथा)

कपन अनलाइन

काठमाण्डौ , बैशाख ३१।

एकपछि अर्को वक्ता क्रमशः बोल्दै थिए । तालीको कर्कल ध्वनीले वक्तालाई उत्साहित गर्दै थियो । मेरो छोराको बोल्ने  पालो आयो ।म  मेरो कम्प्युटरतिर एकाग्र भए ।

उसले  बोल्न सुरू गर्यो, ‘आज सूचना तथा प्रविधि दिवसको अवसरमा हाम्रो विद्यालयले ‘प्रविधिको महत्व’ विषयमा यसरी जुम प्रविधिबाट वक्तव्य कार्यक्रम राख्नु सान्दर्भिक मात्र नभएर हामी विद्यार्थीको व्यक्तित्व विकासमा गरिएको एउटा महत्वपूर्ण अवसर पनि हो । हाम्रो देश सानो भएपनि प्रविधिको क्षेत्रमा ठूलो फड्को मारेको छ । प्रविधिको विकासले विश्व  एउटा गाउँजस्तो भएको छ । संसारभरिका मानिससंग हाम्रो प्रविधि मैत्री सम्बन्ध बनेको छ । जनता सूचनाको हक र प्रविधि सेवाबाट लाभान्वित भएका छन् । विगतमा कोरोनाकालभरि अनलाइन कक्षा सञ्चालन गरेर हामी विद्यार्थीको शिक्षाको उज्यालो घामबाट बञ्चित हुनु नपरेको अवस्था भन्दै थियो, अचानक  नेट अवरूद्ध भयो ।
ऊ पल्लो कोठाबाट कराउँदै म  समक्ष आयो र भन्यो  ‘मामु, नेट चेक गरिस्यो न !  मेरो बोल्ने बेलामा यसलाई बिग्रिनु पर्ने ?’
के भएछ त ?  म यता उता बुझ्न थाले । नेट प्रदायक अफिसमा सम्पर्क गरेँ । यतिमा थिच् र उतिमा थिच् भनेर अह्राइरह्यो । झर्को लाग्यो । डाटा खोलेर फेसबुक हेरेँ ।  फेसबुकका भित्ताभरि जनताका गुनासाहरू पोखिएका रहेछन् । निमेषभरमै जानकारी पाएँ कि  इन्टरनेट सेवा प्रदान गर्दै आएका केही सेवा प्रदायकहरूले व्याडविथ खरिद वापतको विदेशी मुद्रा भुक्तानीको सिफारिस नहुँदा इन्टरनेट सेवा अवरूद्ध भएको रहेछ । वास्तविकता छोरालाई भने । अझै पनि नेट कनेक्सन होला र वक्तव्य सकुँला भनेर पर्खेर बसेको छोरा रन्थनियो ।
उसले भन्यो, ‘आजको विशेष दिनमा गणतन्त्र नेपालले  जनतालाई दिएको सुन्दर उपहार मानौँ कि ?’

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

 

तपाइँको प्रतिक्रिया ।