राष्ट्रगान : सन्तोष कुमार पोखरेल (कविता)

राष्ट्रगान : सन्तोष कुमार पोखरेल (कविता)

कपन अनलाइन
काठमाडौं, फागुन २६।

मेची कोशी रापति काली
कमला भेरी कर्णाली
अरुण तमोर लिखु बागमती
गण्डकी नारायणी त्रिशुली ।।१।।

माई सोलु खिम्ती मोदि
तीला बबई अरु अनगिन्ती
झर्झर बग्छन् धर्ति पगाली
हीम गिरि पर्वत हरियाली।।२।।

उठदै गर्दो अटल धराको
शिखर हिमाल उचाली
हे हे सुन्दर भूमि नेपाली !
फाँट पहाड हिमाली ।।३।।

फाँट मधेसी भावर चुरिया
जङ्गल सुरभित हरिया
हे हे पर्बत गण भृकुटी झैँ
तेज छ, आठ पहरिया ।४।।

संस्कृति हाम्रा थरि थरि ज्ञान
जसले बन्दछ राष्ट्र महान
एक भएर शदिऔंदेखि
बस्दछ जो नेपाली जान ।।५।।

वेद पुराण रामायण निधि
गीतोपनिषद् सृजन महान
कविकोविदले दर्शन कोरे
औपनिषद् अनि शास्त्रीय ज्ञान।।६।।

तिर्थस्थल अति स्वच्छ पवित्र
कुण्ड कोटहरू निर्मल ठान
जसमा ईशको बास छ, कान्चन
रमणिय उपवन अनि उद्द्यान ।।७।।

जनकनन्दिनी जानकी सीता
जनक बुद्ध गोरख उपविता
शिवको पाशुपत नीज धाम
गर्दछु सबकन कोटि प्रणाम ।।८।।

यस बसुधाका देशहरूमा
बस्ने जति सब बन्धु ठान
लागोस् नौलो घाम सुनौलो
हृदयभरिमा, होस् कल्याण ।।९।।

मस्तक छाना विश्व बखान
प्रकृतिको गाऔँ जयगान
अमर रहोस् यो हाम्रो भेष
जय जय हाम्रो सुन्दर देश ।।१०।।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।