छाता प्रजातन्त्रको : त्रिलोचन आचार्य (कविता )

छाता प्रजातन्त्रको : त्रिलोचन आचार्य (कविता )

कपन अनलाइन

काठमाडौं, फागुन १९।

१. जाडोमा यसले दिनेछ बहुतै न्यानो भनेका थियौँ
भोकाले पनि पाउने छ सजिलै मानो भनेका थियौँ
देख्दैछौँ तर आज लाग्दछ कता नाता प्रजातन्त्रको
को ओड्दैछ बसेर ढस्मस यहाँ छाता प्रजातन्त्रको ?
२. गाँठो खुल्दछ भन्दथ्यौँ तर झनै गाँठो यहाँ कस्सियो
माटो जाग्दछ भन्दथ्यौ तर यहाँ माटो अझै भास्सियो
राख्ने हो नि कहाँ भयो जतनले खाता प्रजातन्त्रको
ओड्दैछन् सब आज ढाँट ढुँटले छाता प्रजातन्त्रको ।
३. हाँस्दै बस्छ हिमाल यो मुसुमुसू भन्ने गरेका थियौँ
बाँझो खेत छरी अमूल्य पसिना खन्ने गरेका थियौँ
गर्दैछन् सब हेर च्यातच्युत यो गाता प्रजातन्त्रको
पानी घाम सकेन छेक्न किन हो छाता प्रजातन्त्रको ।
४. मान्छेका मनका विचार सजिलै जोड्नेछ भन्ने थियो
आमाका दिन दुःखका जति सबै तोड्नेछ भन्ने थियो
ऐले छन् अनुदान दान तिर यो हाता प्रजातन्त्रको
होला झन् सुकिलो भन्यो धमिलियो छाता प्रजातन्त्रको ।
५. खोस्नै मात्र रमाउँछन् सब जना टुक्रा गरी हुन्छ र
हेर्दैछन् पर शत्रुले थिलथिलो पारेर साझा घर
यो अड्दा कि दीर्घ काल तक भो पाता प्रजातन्त्रको
भन्छन् मालिक यो उड्यो उडिसक्यो नाता प्रजातन्त्रको ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।