काठमाण्डौ महानगरपालिकाका सबै वडामा अनुगमन समिति गठन

काठमाण्डौ महानगरपालिकाका सबै वडामा अनुगमन समिति गठन

कपन अनलाइन

काठमाण्डौ,फागुन ७।

काठमाडौँ महानगरपालिकाको वडा स्तरीय अनुगमन समिति सबै वडामा गठन भइसकेका छन् । महानगरपालिकाको अनुगमन तथा मूल्याङ्कन कार्यविधिबमोजिम समिति गठन भएका हुन् ।

परियोजनाको अनुगमन, सुपरीवेक्षण तथा मूल्याङ्कन गर्ने संस्थागत तथा कानुनी प्रबन्ध आवश्यक भएकोले नगर कार्यपालिकाबाट कार्यविधि पारित गरिएको हो ।

कार्यविधिमा महानगरपालिकामा उपप्रमुखको संयोजकत्वमा ७ सदस्यीय अनुगमन तथा मूल्याङ्कन समिति गर्ने व्यवस्था गरिएको छ । यसबमोजिम समिति गठन भएर क्रियाशील छ । यो समितिमा प्रमुख प्रशासकीय अधिकृत, प्रमुखले तोकेको एक जना महिलासहित २ जना कार्यपालिका सदस्य, सार्वजनिक निर्माण विभागका प्रमुख र कानुन तथा मानव अधिकार विभागका प्रमुख सदस्य हुनुहुन्छ । समितिको सदस्य सचिव योजना अनुगमन तथा मूल्याङ्कन एकाइका प्रमुख हुनुहुन्छ ।

यो समितिसँगै विषयगत समितिहरुले आफ्नो क्षेत्रभित्र भएका विषयमा अनुगमन गर्न सक्ने, विभाग, सचिवालय, आयोजना, र एकाइले आफ्नो कार्य विवरणमा उल्लेख भएका कामको नियमित अनुगमन, सुपरीवेक्षण र मूल्याङ्कन गर्न सक्छन् ।

वार्षिक नीति, कार्यक्रम तथा बजेटमा समावेश भएका योजनाहरूको कार्य सम्पादन स्तर, गुणस्तरीयता र प्रभावकारिता कायम गर्नका लागि प्रमुखले जुनसुकै समयमा अनुगमन तथा सुपरीवेक्षण गर्न सक्ने व्यवस्था छ ।

वडा समितिले तोकेको वडा सदस्यको संयोजकत्वमा ४ सदस्यीय वडा स्तरीय अनुगमन समिति गठन हुन्छ । समितिको सदस्यमा वडामा कार्यरत प्राविधिक कर्मचारी, वडा समितिले तोकेको सम्वन्धित क्षेत्रको विज्ञ र  सदस्य सचिवका रुपमा वडा सचिवले तोकेको कर्मचारी रहनेछन  ।

तपाइँको प्रतिक्रिया ।