उपत्यकालाई प्लास्टिक झोलामुक्त बनाउन पुनः अनुगमन गरिने
१० साउन । सरकारले काठमाडौंँ उपत्यकालाई प्लास्टिक झोलामुक्त क्षेत्र बनाउने अभियानलाई पुनः सुरु गर्ने भएको छ ।
विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले आज यहाँ पत्रकार सम्मेलनमार्फत उक्त कुराको जानकारी दिएको हो । राजधानीलाई स्वच्छ सहरको रुपमा स्थापित गराउन सरकारले थालेको सो अभियान वैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण रोकिएको थियो ।
विभागले वैशाख एकदेखि ११ गतेसम्म विभिन्न ठाउँमा गरिएको अनुगमनमा सरकारको निर्देशन बिपरित प्लास्टिक झोला बिक्री गर्ने १२ जना व्यापारीलाई नियन्त्रणमा लिई कारबाही अगाडि बढाएको विभागका महानिर्देशक सुरज पोखरेलले बताउनुभयो ।
सो अवधिमा विभागले छसय व्यवसायीको पसलमा अनुगमन गरेको थियो । उहाँले सरकारको निर्देशनअनुसार प्लास्टिक झोला प्रयोग नगर्न व्यवसायीलाई सुझाव दिने गरेको बताउनुभयो ।
अनुगमनको क्रममा विभागले करिव ३० क्वीन्टल प्लास्टिक झोला नियन्त्रणमा लिएर राखेको र त्यसलाई प्रक्रिया पु¥याएर लिलामीको तयारी भइरहेको जानकारी दिनुभएको छ ।
विभागको संयोजकत्वमा नागरिक समाज, सञ्चारकर्मी, सुरक्षाकर्मी, स्थानीय निकायका प्रतिनिधि, कलाकारलगायत आठवटा टोली निर्माण गरी अनुगमनमा परिचालन गरिने जनाइएको छ ।
सो अवसरमा वातावरण मन्त्रालयका प्रवक्ता एवम् सहसचिव महेन्द्रकुमार थापाले ‘जोर्नल अफ इनभाइरन्मेन्ट साइन्स’ नामक पुस्तकको विमोचन गर्दै राजधानीलाई प्लास्टिकमुक्त क्षेत्र बनाउन सरकारले दिएको निर्देशन र ऐनको पालन गर्न प्लास्टिक व्यवसायीलाई आग्रह गर्नुभयो । उहाँले वातावरण संरक्षणमा सञ्चारकर्मीको अहम् भूमिका रहेको औँल्याउदै आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्नुभएको छ । रासस