अल नेपाल अन्तर वडा टेबलटेनिस हुने
कपन अनलाइन
काठमाण्डौ ,असोज २८।
स्पिन इभेन्ट प्रा.लि. को आयोजनामा तेश्रो अल नेपाल अन्तर वडा टेबलटेनिस प्रतियोगिता कात्तिक १ गतेदेखि हुने भएको छ ।
प्रतियोगितालाई खेल प्रेमी सुमन खड्गीले मुख्य प्रायोजन गर्ने भएका छन् । प्रतियोगितामा विभिन्न १० स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक स्पिनका सचिव ज्याकी महर्जनले जनाएका छन् । पुरुष÷महिला सिंगल्स र टिम, यु–१६ ब्वाइज÷गल्र्स सिंगल्स, पुरुष भेट्रान ४० वर्षमाथि, ५० वर्षमाथि र ६० वर्षमाथि तथा महिला भेट्रान ४० वर्षमाथि सिंगल्समा खेल हुने छ । आयोजकका अनुसार प्रतियोगितामा करिब ४ सय ५० खेलाडीको सहभागिता रहने छ ।
टिम इभेन्ट बाहेक सबै स्पर्धामा नगद पुरस्कार राखिएको आयोजक स्पिनका अध्यक्ष सुमन शाक्यले जनाएका छन् । पुरुष÷महिला सिंगल्समा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः ३० हजार, १५ हजार र ७ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्ने छन् । बाँकीमा पहिलो हुनेले १० हजार, दोश्रोले ५ हजार र तेश्रोले २ हजार ५ सय नगद पुरस्कार हात पार्ने छन् ।
प्रतियोगिताको प्रायोजकमा ललितपुर महानगरपालिका, ललितपुर जिल्ला खेलकुद विकास समिति र गोदावरी नगरपालिका रहेका छन् । आधिकारिक बल पार्टनरमा डीएचएस तथा पोशाक पार्टनरमा गोर्खा एथलेटिक्स छन् । अखिल नेपाल टेबलटेनिस संघको तत्वावधानमा हुन लागेको प्रतियोगिता सञ्चालन गर्न करिब १५ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।
चारदिने प्रतियोगिताका खेलहरु सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको करातेको हलमा हुनेछ ।