करिव १८ महिना वित्दा पनि बुढानिलकण्ठमा सल्लाहकार नियुक्तिका लागि “सल्लाह” समेत भएन …..
कपन अनलाइन
काठमाण्डौ ,असोज २२।
२०७९ साल बैशाख ३० गते भएको निर्वाचनमा विजयी बनेको करिव १८ महिना वितिसक्दा पनि बुढानिलकण्ठ नगरपालिकामा सल्लाहकारहरुको नियुक्ति हुन् सकेको छैन।
विभिन्न क्षेत्रका व्यक्तित्वहरु समेटेर सल्लाहकार बनाउने कि नीति आयोग बनाउने भन्ने विषयमा आन्तरिक छलफल र सहमति नबन्दा हाल सम्म बुढानिलकण्ठ नगरपालिकामा सल्लाहकार नियुक्त हुन् सकेका छैनन।
कतिपय जनप्रतिनिधिहरुको सल्लाहकारहरु नियुक्त गर्दा आफ्नो कार्यक्षेत्र मिचिने कमजोर मानसिकता र इन्चार्ज तथा पदाधिकारीहरुलाई नै सल्लाहकार बनाउनु पर्ने पार्टीको बुझाइ र अनौपचारिक निर्देशनको विचमा पिल्सिएको नगरपालिकाले हाल सम्म सल्लाहकारहरुका वारेमा औपचारिक सल्लाह समेत नगरेको एक जनप्रतिनिधिले बताएका छन।
काठमाण्डौका अन्य नगरपालिकाहरुले बैतनिक र अवैतनिक सल्लाहकारहरु नियुक्त गरेर कार्यसम्पादनमा सहजता ल्याइसकेको अवस्थामा बुढानिलकण्ठ नगरपालिकामा भने कुनै पनि छलफल नहुनुलाई धेरैले नगरको उदासिनताका रुपमा विश्लेषण गरेका छन।
तर यस पटक सल्लाहकार मनोनयनका वारेमा अहिलेसम्म कुनैपनी औपचारिक छलफल नभएको बताउदै एक वडा अध्यक्षले चाडैं नै यसका वारेमा छलफल र तयारी शुरु हुने अपेक्षा रहेको धारणा राखेका छन।
बुढानिलकण्ठ नगरपालिकाको नगर प्रमुखमा निर्वाचित भए संगै पार्टीको सहभागीता र भुमिकालाई प्राथमिकतामा राखेका मिठाराम अधिकारीले यस विषयमा पनि सम्भवत पार्टीको सल्लाह र भुमिकाको आशा गरेको हुनसक्ने बताउदै ती अध्यक्षले यसमा प्रमुख भुमिका भने नगर प्रमुख कै हुने बताए ।
बुढानिलकण्ठ नगरपालिकाको प्रमुख सल्लाहकार पनि मनोनयन हुन सकेको छैन। नगर प्रमुख,उपप्रमुख र नगरपालिकाको कामलाई सहजीकरण र ब्यवस्थापन गर्नका लागि निकै महत्वपूर्ण मानिने सो पदमा को नियुक्त होला भन्ने चासो अहिले व्यापक बनेको छ।
अन्य सल्लाहकारहरु मानार्थ जस्तै हैसियतमा रहने भएपनि प्रमुख राजनीतिक सल्लाहकारले भने केही विशेष भुमिका निर्वाह गर्ने भएकोले नेकपा एमाले बुढानिलकण्ठमा सो पदमाको जाने ? भन्ने छलफल पनि शुरु भएको छ। आफ्नो भुमिका र राजनीतिक प्रभाव विस्तारको गतिलो मंच मानिने भएकोले धेरै एमाले नेताहरु सो पदमा जानको लागि दौडमा रहेको श्रोतले जानकारी दिएको छ।