काठमाण्डौका “हेडसर” हरुको खुल्ला चुनौती र प्रमुख बालेनको परिक्षा
कपन अनलाइन
काठमाण्डौ ,असोज ४।
काठमाण्डौ महानगरपालिकाका प्रधानाध्यापकहरुले विद्यालय बन्द गरेर आन्दोलनमा जाने निर्णय गरे संगै अहिले महानगरको निर्देशन असफल हुने देखिएको छ।
नेपाल सरकारले ल्याएको शिक्षा विधयकक विरोधमा भैरहेको आन्दोलनमा नजान र गएमा कारवाही गर्ने काठमाण्डौ महानगरपालिकाले निर्देशन दिए संगै सो को प्रतिक्रिया स्वरूप प्रधानाध्यापकहरुले बिज्ञप्ति जारी गर्दै अवज्ञा गर्ने जानकारी दिएका हुन्।
नेपाल शिक्षक महासङ्घको नेतृत्वमा बुधबार काठमाडौँ केन्द्रित आन्दोलन भइरहेका बेला काठमाडौँ महानगरले विद्यालय बन्द गरेर पठनपाठन बन्द गरेको पाइएमा प्रचलित कानुन बमोजिम शिक्षकहरूमाथि कारबाही गर्ने जानकारी महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले दिएका छन।
शिक्षा अधिकारी कोइरालाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘‘शिक्षकका पेसागत–वृत्ति विकासका लागि माग राख्ने र पूरा गर्ने विधि एवम् प्रक्रियाको माग प्रशस्त्र हुँदाहुँदै विद्यालय शान्तिक्षेत्र र प्रचलित कानुन विपरीत हुने विद्यालय बन्द नगर्न अनुरोध गर्दै काठमाडौँ महानगरपालिका भित्रका विद्यालय बन्द गरेमा वा बन्द गर्न बाध्य गरेमा वा पठनपाठन बन्द गरी विद्यार्थीको नियमित अध्ययन गर्न पाउने अधिकारको हनन् गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने र यसका सम्पूर्ण जिम्मेवारी सम्बन्धित व्यक्ति नै हुने ब्यहोरा जनकारीका लागि निर्देशानुसार अनुरोध छ ।’’
त्यस्तै नेपाल शिक्षक महासंघले आन्दोलनमा लागेबापत कसैले कारबाही गरे प्रतिवाद गर्ने चेतावनी दिएको छ ।महासंघका अध्यक्ष राजेन्द्र अधिकारी र सचिव हेरम्बराज कँडेलले एक विज्ञप्ति जारी गर्दै आन्दोलनमा सहभागी भएबापत कोही कसैले कारबाही गरेमा त्यसको प्रतिवाद महासंघको नेतृत्वमा सामूहिक रुपमा गरिने प्रतिवद्धता व्यक्त गरेका हुन् ।