कपन डुवान र खुल्ला खोला:बुढानिलकण्ठमा सांसद र जनप्रतिनिधिहरुको छलफल,के भयो निर्णय ?
कपन अनलाइन
काठमाडौं, भदौ ५।
साततलेबाट आरम्भ चोक सम्म यज्ञमति तथा चखुंचा खोला खोलिए संगै अन्य खोला र थप स्थानमा के हुने ? भन्ने प्रश्न पेचिलो बनेको समयमा काठमाण्डौ क्षेत्र नं ४ का सांसदहरु र बुढानिलकण्ठ नगरपालिकाका जनप्रतिनिधिहरु विच छलफल भएको छ।
काठमाण्डौ क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य,बागमती प्रदेस सभा सदस्यहरु, नगर प्रमुख र वडा अध्यक्षहरु विचको छलफल ठोस निस्कर्ष बिना टुंगिएको छ।
साउन २६ गते सर्वपक्षीय छलफल गर्ने मिति तय भए पनि साउन २५ गते बुढानिलकण्ठ नगरपालिका र काठमाण्डौ महानगरपालिकाको सिमानामा रहेको क्षेत्रमा महानगरपालिकाले डोजर चलाउने तयारी गरे संगै विकसित जटिल परिस्थितिका कारण स्थगित भएको जनप्रतिनिधिहरुको बैठक भाद्र ५ गते भएको हो।
काठमाण्डौ क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य गगन कुमार थापा,प्रदेस सभा सदस्यहरु जयराम थापा ,मीना पराजुली ,बुढानिलकण्ठ नगर प्रमुख मिठाराम अधिकारी , वडा नं १० का अध्यक्ष तथा प्रवक्ता नवराज भट्टराई,वडा नं १२ का अध्यक्ष शम्भु प्रसाद भट्टराई ,वडा नं १ का अध्यक्ष सुरेन्द्र लामा,नेपाली कांग्रेसका नगर सभापति राजाराम बुढाथोकी ,पुर्व प्रदेस सभा सदस्य न्ह्युछे नारायण श्रेष्ठ ,वडा नं १० का सदस्य चन्द्रमान श्रेष्ठ लगायतको उपस्थितिमा भएको छलफलले आगामी दिनमा सबैको सहमतिमा ठोस योजना अगाडी सार्ने निर्णय गरेको छ।
बुढानिलकण्ठ नगरपालिकाको यज्ञमति खोलामा निर्माणाधीन रहेको बक्स कल्भर्टका विषयमा उपत्यका विकास प्राधिकरणका प्रतिनिधि संग थप छलफल गरेर निर्माण अगाडी बढाउने वारेमा छलफल भएको सो जनप्रतिनिधिहरुको बैठकमा आरम्भ चोक माथि चखुंचा खोलाका वारेमा महानगर संग छलफल पश्चात मात्रै थप निर्णय गर्ने सहमति भएको छ।
त्यस्तै हाल खोला खोलिएको स्थानमा रहेका जोखिमयुक्त संरचना र त्यहा विधमान समस्याहरुका वारेमा गम्भीर छलफल गरिएको सो बैठकमा आगामी दिनमा सबै सरोकारवाला पक्ष संग संवाद गर्नका लागि सामुहिक पहल गर्ने वारेमा छलफल भएको एक सहभागीले बताएका छन।
काठमाण्डौ महानगरपालिकाले एकाएक खोला खोले संगै करोडौ रुपैयाको टेन्डर लागेको बक्स कल्भर्ट निर्माण अनिश्चित बनेको अवस्थामा जनप्रतिनिधिहरुको सामुहिक छलफललाई निकै चासो पुर्वक हेरिएको थियो।
साततले देखि आरम्भ चोक सम्म खोला खोले संगै जोखिममा परेका संरचना र सयौ घरहरुले भोगिरहेको आवतजावतको समस्याका वारेमा छलफल भए पनि सो बैठकले यस सम्बन्धमा कुनै ठोस धारणा भने बनाउन सकेन।
यस विषयमा काठमाण्डौ महानगरपालिकाका प्रमुख र बुढानिलकण्ठ नगरपालिकाका प्रमुख विच छलफल पश्चात थप निर्णय गर्ने सहमति भएको जानकारी दिदै एक सहभागीले आगामी दिनमा संघीय ,प्रदेस र स्थानीय तहका सबै जनप्रतिनिधि सामुहिक रुपमा अगाडी बढ्ने बताएका छन।