जीवन कुलो : त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाण्डौ ,असार १६।
दिव्य कर्म के ? ज्ञान छैन क्यै
स्वच्छता कता ? ध्यान छैन क्यै
पस्छ दृष्टिमा बेसरी फुलो
लक्ष्य बिर्सिँदै बग्छ यो कुलो ।
आज यो भन्यो भोलि त्यो भन्यो
पेट भर्नु नै तिर्सना बन्यो
छैन, छैन क्यै चाहना ठुलो
लक्ष्य बिर्सिँदै बग्छ यो कुलो ।
यो छ हातमा त्यो छ साथमा
भन्नता भन्यौँ जान्न साथमा
छैन रापिलो प्रेमको चुलो –
लक्ष्य बिर्सिँदै बग्छ यो कुलो ।
घाम आउँछन् स्नेह छर्दछन्
मेघ झर्दछन् सृष्टि भर्दछन्
जोख्न त्यो कुरो छैन खै तुलो ?
लक्ष्य बिर्सिँदै बग्छ यो कुलो ।
खेत बाँझियो कर्म फाँटको
श्रेय के फलोस् मानु ढाँटको
भेट्नु के नदी भै धुलो धुलो –
लक्ष्य बिर्सिँदै बग्छ यो कुलो ।
अन्धकारमा पाइला लुलो –
अल्पज्ञानको भै सधैँ मुलो –
चक्षु के खुले ? को हुने पुलो+ ?
लक्ष्य बिर्सिँदै बग्छ यो कुलो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
