आजको मौसम पूर्वानुमान :काठमाडौंसहित देशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना
कपन अनलाइन
काठमाडौं, असार १५ ।
शुक्रबार पनि देशका सबै प्रदेशमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस क्रममा काठमाडौंसहित देशका विभिन्न स्थानमा ‘भारीदेखि धेरै भारी’सम्म वर्षा हुने सम्भावना रहेको जानकारी दिँदै महाशाखाले सतर्कता अपनाउन सुझाव दिएको छ।
महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसार हाल गण्डकी र लुम्बनी प्रदेशका धेरै र बाँकी प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको हो।महाशाखाका अनुसार दिउँसो पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
यस क्रममा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। आज काठमाडौं उपत्यकामा पनि भारी वर्षाको सम्भावना देखिएको मौसमविद् शाक्यले बताइन्।
‘त्यसो त काठमाडौं उपत्यकामा भारी वर्षा भइसकेको छ’, उनले भनिन्, ‘६ घण्टाकै अवधिमा ललितपुरको खुमलटारमा ६६.६ मिलिमिटर वर्षा भइसकेको छ। अहिले पनि पानी पर्ने क्रम जारी छ।’
मौसमविद्का अनुसार १० मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई हल्का वर्षा, १० मिलिमिटरदेखि माथि ५० मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई मध्यम वर्षा तथा ५० भन्दा माथि सय मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई भारी वर्षा भनिन्छ। यस्तै सय मिलिमिटरभन्दा माथि र दुई सयभन्दा मुनि मिलिमिटर पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ।
महाशाखाका अनुसार आज दिउँसो गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही तथा बाँकी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ।