इसान द्वारा आयोजित कृष्टिना निबन्ध लेखन प्रतियोगिता २०८० सम्पन्न
कपन अनलाइन
काठमाडौं जेठ ३।
संस्थागत विद्यालय संघ नेपाल (इसान) द्वारा कृष्टिना भण्डारीको स्मृतिमा आयोजित क्यान्सर रोगसँग सम्बन्धित परामर्श र निबन्ध लेखन प्रशिक्षण सहितको इसान कृष्टिना निबन्ध लेखन प्रतियोगिता २०८० सम्पन्न भएको छ ।
मङ्गलबार भएको उक्त प्रतियोगितामा विभिन्न ३२ विद्यालयका ३८ जना विद्यार्थीको सहभागिता रहेको थियो । प्रतियोगिता अघि दियालो साहित्य सरगमकी अध्यक्ष तथा साहित्यकार शान्ति शर्माले आधुनिक उपचार पद्धतिले चौथो स्टेजको क्यान्सर समेत निको भएका उदाहरण प्रस्तुत गर्दै क्यान्सरलाई आत्माविश्वासले जितेर अवसरका रूपमा उपयोग गर्न सकिने र क्यान्सर पश्चात अझै सुन्दर ढङ्गले जीवन चलाउन सकिने बिषयमा प्रशिक्षण समेत दिएकी थिइन् ।
वाल्मीकि क्याम्पसका उप-प्राध्यापक डा. शेखर दाहालले निबन्ध लेखनका कुराहरूलाई मिहिन ढङ्गले केलाउँदै एउटा असल निबन्ध तयार पार्न ध्यान दिनुपर्ने लगायतको बारेमा जानकारी गराएका थिए । जोरपाटी स्थित याम्ब्यासडर एकेडेमीमा सञ्चालित कार्यक्रममा आयोजक विद्यालयका प्रिन्सिपल मोहन मल्लको सभापतित्वमा सञ्चालित कार्यक्रममा इसान पूर्व अध्यक्ष परिषदका अध्यक्ष राजकुमार श्रेष्ठले स्वागत मन्तव्य राख्दै कार्यक्रमले पुरस्कार दिने र निबन्ध लेखन सिकाउने मात्र नभएर क्यान्सर रोग विरुद्धको सचेतना फैलाउने प्रमुख उद्धेश्य राखेको जानकारी गराए ।
कक्षा ४ मा अध्ययन गर्दागर्दै क्यान्सर रोगका कारण आफ्नो जीवन समाप्त हुन पुगेकी कृष्टिना भण्डारीको सम्झनामा क्यान्सर रोगलाई नै विषय बनाएर संस्थापक विद्यालय संघ नेपाल (इसान) ले हरेक वर्ष निबन्ध प्रतियोगिता आयोजना गर्दै आएको छ । यस प्रतियोगिताको पुरस्कार वितरण अर्को कार्यक्रममा गरिने आयोजकले जानकारी गराएको छ । कार्यक्रमलाई इसानका महा-सचिव, अलमाइटी स्कुलका प्रिन्सिपल तथा साहित्यकार गणेशप्रसाद खतिवडाले सञ्चालन गरेका थिए ।