नेपाल रग्बीलाई विश्व रग्बीको पूर्ण सदस्यता
कपन अनलाइन
काठमाडौं, बैशाख ३० ।
नेपाल रग्बी संघले विश्व रग्बी संघको पूर्ण सदस्यता प्राप्त गरेको छ । नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरेले बिहीबार विश्व रग्बीले नेपाललाई पूर्ण सदस्यता प्रदान गरेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
सन् २०१४ मा एसिया रग्बीको एसोसिएट सदस्यता पाएको नेपालले २०१८ मा पूर्ण सदस्यता पाएको थियो । त्यसपछि ‘गेट इन्टु रग्बी’ कार्यक्रम सञ्चालनसंगै घरेलु गतिविधिमा सक्रियता बढाउदै गएको नेपालले विश्व रग्बीको पूर्ण सदस्यता पाएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले निकै ठूलो परिश्रम र संघर्षपछि नेपालले विश्व रग्बीको पूर्ण सदस्यता पाएको बताए ।
‘विश्व रग्बीले कुनै देशमा आफ्नो खेल संघ छ भनेर हतार–हतारमा सदस्यता दिदैन । निश्चित प्रक्रिया पूरा गर्नु पर्छ ।’ एसिया रग्बीका कार्यकारी सदस्य समेत रहेका सदस्य–सचिव घिसिङले भने– ‘घरेलु र अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना, अन्तर्राष्ट्रिय सहभागिता, कार्यालय सञ्चालन, कार्यालयमा कर्मचारीको अवस्था, प्राविधिक जनशक्तिको अवस्थालगायत सबै कुरा हेरेर मात्र विश्व रग्बीले पूर्ण सदस्यता दिन्छ ।’
‘पूर्ण सदस्यता पायौं भनेर चुप लागेर बस्दैनौं । काम पनि गर्ने हो संगसंगै अधिकारीका लागि संघर्ष पनि गर्ने हो । संघले अब झन सक्रिएता बढाउनु पछ ।’ नेपाल रग्बी संघका पूर्व अध्यक्ष सदस्य–सचिव घिसिङले अगाडि थपे ।
नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले संघको मेहनतले गर्दा नेपालले विश्व रग्बीको मान्यता पाएको बताउदै नेपाली रग्बी व्यवसायिकतामा प्रवेश गरेको धारणा राखे ।
नेपाल रग्बी संघका वरिष्ठ उपाध्यक्ष चेतनराज गिरीले नेपाललाई पूर्ण सदस्यता प्रदान गरेकोमा विश्व रग्बीलाई धन्यवाद दिए ।