नेपाल बुद्धिचाल महासंघले राष्ट्रिय च्याम्पियनलाई मासिक तलव सुविधा दिने

कपन अनलाइन

काठमाण्डौ , बैशाख १२।

नेपाल बुद्धिचाल महासंघले आफ्नो राष्ट्रिय च्याम्पियनलाई मासिक तलव सुविधा दिने घोषणा गरेको छ ।

यसै साता सम्पन्न राष्ट्रिय बुद्धिचाल च्याम्पियनसिपमा खुलातर्फका विजेता फिडेमास्टर रुपेश जयसवाल र महिलातर्फकी विजेता फिडेमास्टर सुजना लोहनी महासंघले गरेको ऐतिहासिक घोषणाबाट लाभान्वित हुनेछन् ।

नेपालमा अहिलेसम्म फुटबल र क्रिकेटबाहेक अन्य कुनै पनि खेल संघले आफ्ना अन्तर्राष्ट्रिय खेलाडी वा राष्ट्रिय च्याम्पियनलाई मासिक तलव सुविधा दिने गरेका छैनन् । खेलाडीलाई संघबाट नै मासिक तलव उपलब्ध गराउनेमा बुद्धिचाल तेस्रो भएको छ ।

रुपेश र सुजनाले जनही मासिक १० हजार रुपैयाँ तलव पाउनेछन् । महासंघले सागर फिड्स प्राली, इटहरीसँगको सहकार्यमा खेलाडीलाई तलव सुविधाको सुरुवात गर्न लागिएको जानकारी दिएको छ ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेपाल बुद्धिचाल महासंघका अध्यक्ष बिदुरप्रसाद गाैतम र सागर फिड्सका प्रवन्ध निर्देशक ज्ञानेन्द्र पराजुलीेले एक वर्षे  सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झाैताअनुसार सागर फिड्सले महासंघलाई वार्षिक २ लाख ४० हजार रुपैयाँ उपलब्ध गराउनेछ भने च्याम्पियन खेलाडहरु सागर फिड्सकाे ब्रान्ड एम्बेसडर रहनेछन् । ज्ञानेन्द्र नेपाल बुद्धिचाल महासंघका उपाध्यक्षसमेत हुन् ।

‘हामीलाई थाहा छ, राष्ट्रिय च्याम्पियन खेलाडीका लागि यो रकम धेरै नै न्यून हो । यद्यपी यो सुरुवात हो । फुटबल क्रिकेटजस्तो खेलाडीलाई तलवका लागि अन्तर्राष्ट्रिय महासंघबाट सहयोग आउँदैन,’ महासंघका अध्यक्ष विदुरप्रसाद गौतमले भनेका छन्, ‘निजी क्षेत्रको सहकार्यले यो सम्भव भएको हो । हामी दीर्घकालसम्म यसलाई निरन्तरता दिन प्रयास गर्नेछौं ।’

सागर फिड्सका प्रवन्ध निर्देशक पराजुलीले बुद्धिचाल विकासमा व्यवसायिकताकाे सुरुवात गर्ने प्रयास गरेकाे जनाए । ‘ याे सुरुवातले खेलाडी सुरक्षामा टेवा पुग्ने अपेक्षा राखेका छाैं, उनले पत्रकार सम्मेलनमा भने ।

मासिक सुविधा पाउने च्याम्पियनद्वय रुपेश र सुजनाले पहिलाेपल्ट कर्पेारेट क्षेत्रले सहयाेग गरेकाेमा खुसी लागेकाे बताए । भविष्यमा अन्य खेलाडीका लागि प्राेत्साहनसमेत मिलेकाे उनीहरुकाे भनाइ छ ।

चैतमा नेपाल बुद्धिचाल महासंघको नयाँ कार्यसमिति निर्वाचित भएलगत्तै नयाँ प्रणालीमार्फत पहिलोपल्ट राष्ट्रिय च्याम्पियनसिप आयोजना भएको थियो । राष्ट्रिय बी च्याम्पियनसिपबाट छानिएका, फिडे रेटिङमा शीर्ष स्थानमा रहेका र साविक विजेता गरी १० खेलाडीबीच राउण्ड रोविन प्रणालीमा प्रतिस्पर्धा गराएर राष्ट्रिय च्याम्पियन छनोट गरिएको छ ।

नयाँ राष्ट्रिय च्याम्पियनहरुले सबै अन्तर्राष्ट्रिय आधिकारिक प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् । उनीहरु महासंघको विधानअनुसार मताधिकारसहित कार्यसमितिमा आमन्त्रित सदस्यसमेत हुनेछन् ।

तपाइँको प्रतिक्रिया ।