बैशाख आएछ : त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाडौं,बैशाख ९।
वसन्तको सुन्दर काख रोजी
मीठो तिखो कोकिल कण्ठ खोजी
बर्को उज्यालो नभको सिएर
बैशाख आएछ खुसी लिएर ।
बुट्टा बनाईकन पालुवाको
बाँड्दै चिनारी झरना कुवाको
उध्दानको शान यता दिएर
बैशाख आएछ खुसी लिएर ।
यो सिर्जना भर्नुछ चम्क भन्दै
बाटो छ टाढा अब लम्क भन्दै
हलो जुवाकासँग नारिएर
बैशाख आएछ खुसी लिएर ।
नानीहरू काफल टिप्न जाऊन्
त्यैँ कोइलीको लय सुन्न पाऊन्
यात्री डुलून् कान्ति छटा पिएर
बैशाख आएछ खुसी लिएर ।
हाँसो खुलेको पर टाकुरामा
आशा फुलेको नव आँकुरामा
हेर्दै उठी निर्भय चम्किएर
बैशाख आएछ खुसी लिएर ।
नाचे जमाई रमिता कसैले
कोरे रमाई कविता कसैले
बाँडेर उल्लास अनेक हेर
बैशाख आएछ खुसी लिएर ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।