अभिलाषा : गंगा लिगल (कविता )

अभिलाषा : गंगा लिगल (कविता )

कपन अनलाइन

काठमाण्डौ ,चैत्र २५ ।

नारी उदारताका असिमिततामा
अनगिन्ती प्रवाहहरु बग्दै
नवीन मार्गको
खाजी गर्न चाहन्छ
क्षणभंगूर जीवनमा
अनेकन दायित्वहरु
तँ छाड म छाड गरी
दौडिरहेछन्

यी अनगिन्ती दायित्वका
बोझहरु
पन्छाउँदै, पूर्ण गर्दै
नेपाली भूमिका
नारीका
गौरवपूर्ण इतिहासहरु
संकलित गरी
त्यसलाई हृदयंगम गरी
बढ्दै छन्
यी कदमहरु

नारी दायित्वका भारहरु
समेट्दै
स्वस्थ राष्ट्रको कल्पनामा
विपनाको डोरी बाट्दै
अग्रसर छन्
प्रत्येक क्षण ।

उनका शारिरीक मानसिक
प्रत्येक अंगहरु
नेपाली धरतीको कणकणमा
नारी उज्वलताका
आशाका किरण छर्दै
उन्नत देशको
अभिलाषा राख्दै
सक्रिय र चेतनशील छन्

प्रत्येक नारीको दैन्यतालाई पखाली
स्वच्छ र उदात्त जीवनको
संगालो खोज्दै
प्रगतिका ज्यावल बोक्दै
प्रत्येक पल पलमा
नारी पराकाष्ठाको
कदम बढाई
राष्ट्र निर्माणमा
सहयोगी भूमिका निभाउन
उकट अभिलाषा पूर्ण गर्नेछ
अनि,
नेपाली धर्तीमा
गुँरास परास र
सुनगाभाले,
सौन्दर्य र माधुर्य थप्ने छ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।