बौद्धमा तेमाल जात्रा मनाइदै
कपन अनलाइन
काठमाडौँ, चैत्र २२ । तामाङ समुदायले दिवङ्गत दिवंगत पितृहरूको सुगति र मोक्षको कामना गर्दै बौद्ध क्षेत्रमा तेमाल जात्रा मनाएका छन ।हरेक बर्ष चैत्र शुक्ल चतुर्दशीका दिन तामाङ समुदायले दिवङ्गत आफन्तको चीरशान्तिका लागि बौद्ध महास्तूपमा छ्योमि बत्ती बाल्दै लामा गुरुहरूद्वारा विशेष पूजा पाठ (ङोपा-मोन्लम) गर्छन् ।
चैत्र शुक्ल चतुर्दशीको बेलुकी दिवङ्गत पितृका नाममा बत्ती बालेका दर्शनार्थीले पूर्णिमाका दिन बिहान बालाजु बाइसधारामा स्नान गर्छन् । स्नानपछि स्वयम्भू महाचैत्यमा पुगेर पूजा पाठ गरी समापन गरिन्छ ।
तेमालका अन्तिम राजा रिन्जन दोर्जे बलले बौद्ध स्तूपको जीर्णोद्धार सम्पन्न भएको खुसीमा तेमाल जात्रा चलाएको किंवदन्ती रहेको छ । उनले विक्रम संवत् १८९१ असोज २ मा तेमाल जात्रालाई राजकीय चाडको मान्यता दिएको भनाइ पनि छ । अहिले सरकारले यस जात्रालाई राष्ट्रिय पर्वको मान्यता प्रदान गरेको छ ।