चिनारी नेपाल गोकर्णेश्वर- ४ द्वारा आयोजित महिला दौड सम्पन्न
कपन अनलाइन
काठमाडौँ, फाल्गुन २५ । ११३ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको चिनारी नेपाल द्वारा आयोजित महिला दौड सम्पन्न भएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ को आर्थिक सहयोग तथा चिनारी साकोस र उत्तरबाहिनी बोर्डिंग स्कुलको प्राबिधिक सहयोगमा किशिगाल चोक बाट शुरु भएको उक्त दौड नयाँ पाटी पिपलबोट पुगी पुन किशिगाल पुगी समापन भएको थियो । प्रतियोगितामा २५ वर्ष माथिका करिब ६५ जना महिलाहरुले दौडमा सहभागिता जनाएका थिए ।
प्रतियोगितामा निर्धारित दुरी पार गर्दै अनु घिमिरे प्रथम भइन भने उर्मिला मगर द्वितीय र मनमाया तामाङले तृतीय स्थान हासिल गरेकी थिइन । प्रतियोगितामा प्रथम दितीय र तृतीय हुनेले क्रमश नगद पुरस्कार सहित ट्रफी मेडल र प्रमाण पत्र हासिल गरेका थिए भने टप टेन सम्म पर्न सफल प्रतियोगीलाइ मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।चिनारी नेपालको अध्यक्ष शुभलक्ष्मी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका उप प्रमुख सान्नानी लामा,बिशेष अतिथि गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष जयराम महत, कार्यपालिका सदस्य गौरीमाया श्रेष्ठ, वडा नं ८ का वडा सदस्य सुमन लामा , प्रहरी प्रभाग गोकर्णका कार्यालय प्रमुख सोभित अर्याल लगायतले पुरस्कार वितरण गरेका थिए ।
संस्थाको सचिव गणेश माया श्रेष्ठले संचालन गरेको कार्यक्रममा कोषाध्यक्ष ज्ञानलाल श्रेष्ठले स्वागत मन्तब्य सहित कार्यक्रम को उदेश्य माथि प्रकाश पारेका थिए ।
अन्तर्राष्ट्रिय नारी दिवस पनि भनिने यो दिवस हरेक वर्ष मार्च ८ तारिखका दिन मनाउने बताउदै उनले नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाउने प्रचलन रहेको जानकारी गराए ।नेपालमा यस वर्ष ‘लैंगिक समानताको बलियो आधार : सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने राष्ट्रिय नाराका रहेको समेत जानकारी गराए ।
कार्यक्रमलाइ सम्बोधन गर्दै गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष जयराम महतले ११३ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभकामना ब्यक्त गर्दै महिलाहरु घरमा मात्र सिमित हुन नहुनीमा जोड दिएका थिए । उनले महिलाहरुलाई आयआर्जन गर्न सक्ने शिपमुलक तालिम लगायतको कार्यक्रम वडाले गर्दै आएको जानकारी दिदै अग्रसर भएर त्यस्ता तालिममा सहभागी हुन समेत अनुरोध गरेका थिए । उनले बिजयी खेलाडीहरुलाई बधाई समेत दिएका थिए।
कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका उप प्रमुख सान्नानी लामाले ११३ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभकामना ब्यक्त गरेकी थिइन । नारी दिवसको अवसर पारेर महिलाहरुको दौड आयोजना गरेकोमा आयोजकलाइ धन्यवाद दिएकी थिइन। उनले महिलाहरु चुलो चौकोमा मात्र सिमित नहुन अनुरोध गर्दै चुलोचौकोमा मात्रै सीमित हुने अवस्था कायम रहँदासम्म महिला विकासको गति नबढ्ने बताइन ।
संख्याका हिसाबले समाजमा बराबरी हिस्सेदारी भएका नारीलाई अवसर र अधिकार पनि बराबर नै दिनुपर्ने बताउदै देशको आधाभन्दा बढी जनसंख्या भएका महिलालाई अवसरबाट वञ्चित गरेर, उनीहरूलाई अगाडि बढ्नबाट रोकेर देशको विकास सम्भव नहुने बताइन । महिलालाई पनि अवसर र मौका दिएर देश विकासमा सक्रिय बनाउनुपर्नेमा उनको जोड रहेको थियो । नगरपालिकाले महिलाहरुको लागि बिभिन्न कार्यक्रम गर्दै आएको जानकारी दिदै उक्त कार्यक्रममा सक्रिय सहभागी हुन समेत अनुरोध गरेकी थिइन ।