बुढानिलकण्ठमा नेकपा एमालेको ग्रासरुट अभियान : संगठन विस्तार देखि रचनात्मक गतिविधि सम्म
कपन अनलाइन
काठमाडौं, फागुन २०।
नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीले ग्रासरुट अभियानलाई तीव्र बनाएको छ। केन्द्रीय कमिटीको निर्देशन अनुसार अभियानको तयारीका लागि विभिन्न बैठक,भेला तथा छलफल गरेको नगर कमिटीको पूर्ण बैठक सम्पन्न भएको छ।
बुढानिलकण्ठ नगरपालिका वडा नं १३ चुनिखेलमा रहेको सार पार्टी प्यालेसमा भएको नगर कमिटीको पूर्ण बैठकले संगठन विस्तार र विभिन्न रचनात्मक गतिविधिहरु संचालन गर्ने निर्णय गरेको छ।
नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीका अध्यक्ष प्रदीप डंगोलको अध्यक्षतामा भएको सो बैठकमा नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे प्रमुख अतिथि रहेका थिए।
नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा बुढानिलकण्ठ नगरपालिकाका अभियान इन्चार्ज रचना खड्काको उपस्थितिमा भएको सो बैठकमा ग्रासरुट अभियानका लागि नगर कमिटीबाट इन्चार्जहरुको जिम्मेवारी सहित विभिन्न निर्णयहरु पारित गरिएको थियो।
यस अभियानका क्रममा वडा र टोल स्तरमा कमिटी गठन,पुनर्गठन सहित पार्टी सदस्यता विस्तार र अध्यावधिक लगायतका गतिविधिहरु संचालन हुने जानकारी दिदै अध्यक्ष प्रदीप डंगोलले रचनात्मक गतिविधिहरुलाई पनि प्राथमिकतामा राख्ने बताएका छन।